भगवान् बुद्धको समयमा निर्वाण प्राप्तिसँग जोडिएका अनेक धर्म, गुरु, दर्शन, मत आदि प्रचलनमा थिए, जस्तो हाल प्रचलनमा छन् । भगवान् स्वयंले कैँयौँ महिनासम्म यिनै निर्वाण साधनाविधिका गहन अध्ययन, अनुसन्धान र प्रयोग गर्नुभएको थियो । यी सम्पूर्ण सम्प्रदायका एउटै लक्ष्य थियो– मोक्ष । सर्वत्र मोक्षकै चर्चा थियो । प्रत्येक सम्प्रदायका गुरुहरू मोक्षकै चर्चा गर्नुहुन्थ्यो । मोक्ष प्राप्य छ, मोक्ष प्राप्त गर्नुपर्छ भन्नुहुन्थ्यो तर मोक्ष के हो ? मोक्ष प्राप्त गर्ने स्पष्ट साधनाविधि के हो ? त्यस विधिले कसरी मोक्ष प्रदान गर्छ ? त्यसले मोक्ष प्रदान गर्ने आधार के हो ? मोक्ष साधनाका चरणहरू केके हुन् ? ती प्रत्येक चरणका अनुभुतिहरू केके हुन् ? मोक्ष साधनाको प्रगतिको मापदण्ड के हो ? मोक्ष प्राप्तिपश्चात्का अनुभूतिहरू केके हुन् ? भन्नेजस्ता मोक्षसँग सम्बन्धित महत्वपूर्ण प्रश्नका चित्त बुझ्दो उत्तर भने कसैसँग पनि थिएन । प्रत्येक सम्प्रदाय र सम्प्रदायवादीका अभिमत पृथकपृथक थिए ।
यी सम्प्रदायमा मोक्ष प्राप्तिका लागि, गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिका आवश्यकता पर्ने धारणा पनि उत्तिकै व्याप्त थियो । प्रत्येक सम्प्रदायका गुरुहरू आफ्नै सम्प्रदायसँग सम्बन्धित धर्म दर्शन, मान्यता, मत, विश्वास आदिलाई स्वीकार गरेमा मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने धारणा बाँडिरहनु भएको थियो ।
भगवान्ले जब यो आर्य अष्टाङ्गमार्ग साधनाद्वारा निर्वाण प्राप्त गर्नुभयो, जब चार आर्य सत्यलाई साधनामा उतार्नुभयो, जब एक आर्य सत्यलाई साधनामा उतार्दा चारै आर्य सत्य अनि बाह्र आवृत्ति स्पष्ट भएका थिए भगवान् यी आफ्ना निर्वाण अनुभूतिलाई यसरी व्याख्या गर्नुहुन्छ–
पूष्वे अननुस्सुतेसु अर्थात् पहिले कहिल्यै नसुनिएको ।
भगवान्ले मोक्षका नाममा अनेक दर्शन, धारणा, मत, साधनाविधि आदिका बारेमा सुन्नुभएको थियो । यस्ता अनेक मतहरूमा समाहित भई मोक्ष प्राप्त गर्न प्रयासरत साधकलाई पनि देख्नुभएको थियो । आफैँले पनि यी अनेक साधनाका असफल प्रयोग पनि गर्नुभएको थियो तर संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारणको मार्ग (साधनाविधि) छ, दुःख निरोधको अवस्था छ भन्ने जस्ता सरल, स्पष्ट, शुद्ध धर्मको व्याख्या भने कहिल्यै सुन्नुभएको थिएन । अनेक आंशिक, अपूर्ण, कर्मकाण्डी मोक्ष साधनाविधिका बारेमा सुन्नुभएको थियो तर आफैँले आन्तरिक आध्यात्मिक रूपान्तरण बोध गर्न सक्ने प्रामाणिक पूर्ण साधनाविधिबारे भने कहिल्यै कतैबाट सुन्नुभएको थिएन, धम्मका नियमहरूलाई नै निर्वाणको पक्षमा क्रियाशील गराई निर्वाण प्राप्त गर्ने साधनाविधि (उपाय) का बारेमा पहिले कहिल्यै कतै सुन्नुभएको थिएन । आफूले भेटेका कुनै पनि गुरुबाट यस्तो कुरा सुन्न पाउनुभएको थिएन ।
जब भगवान्ले आर्य अष्टाङ्ग मार्गद्वारा निर्वाण प्राप्त गर्नुभयो तब यस्तो कहिल्यै कसैबाट नसुनिएको साधनाविधिबाट भगवान्लाई अनेक परिणाम प्राप्त भए । केके परिणाम प्राप्त भए ? उत्तर हो भगवान्लाई चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।
प्रश्न उठ्न सक्छ कस्तो चक्षु उत्पन्न भयो ? उत्तर हो धर्मचक्षु उत्पन्न भयो । धर्म (आध्यात्मिक रूपान्तरण) को चक्षु (स्पष्ट बोध) प्राप्त भयो । साधनाका कारण मनको आन्तरिक प्रदेशमा जुनजुन आध्यात्मिक रूपान्तरणहरू भए ती परिवर्तन स्पष्ट र प्रमाणिकरूपमै आन्तरिक चक्षुमा अनुभूति भयो । आन्तरिक आध्यात्मिक रूपान्तरणका अनेक चरण, अनित्यबोध, अनात्मबोध, दुःखको दर्शन, निर्वाण स्थितिको इन्द्रियातीत अनुभूति आदि अब कुनै कल्पना, भ्रम, मिथ्या वा श्रुतज्ञान थिएनन् । यी प्रामाणिक अवस्था हुन् भन्ने प्रामाणिक ज्ञान प्राप्त भयो ।