मोक्षको नाममा अज्ञान, मोह, भ्रम, कर्मकाण्ड, मिथ्या मान्यता आदि जेजति अविद्या थिए ती सबै आर्य अष्टाङ्ग साधनाबाट उत्पन्न प्रज्ञापश्चात् समाप्त भएर गए र विद्या उत्पत्ति भयो ।
आलोक उत्पन्न भयो, कस्तो आलोक उत्पन्न भयो ?
धर्म र मोक्षको नाममा जुन अन्धकार थियो, मोक्षको संसारमा जसरी दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्याइरहेको स्थिति थियो, अन्धकार वा आलोक अनुपस्थित भएका कारण मार्ग पहिल्याउन नसक्दा भगवान् आफैँ झण्डै ६ वर्षको अन्धकारमा रुमल्लिनुभएको थियो, कैँयौँ साधक अन्धकारमा रुमल्लिएर दुई अतिमा पुगेका थिए । जब भगवान्लाई यो अष्टाङ्ग मार्गद्वारा मोक्ष प्राप्त भयो, आलोक उत्पन्न भयो, साधना मार्गमा प्रकाशको आलोकको उदय भयो तब मोक्ष साधनाका त्यस्ता अनेक भ्रम, अँध्यारो, मार्गविहीनता आदि सबै समाप्त भएर गए । सत्य मोक्ष साधनामार्ग प्रकाशवान् भयो, मोक्ष साधनामार्गको द्विविधा समाप्त भयो ।