‘‘इदं दुक्खसमुदयं अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहातब्ब’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’ ‘‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहीन’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’
अर्थात् भिक्षुहरू ! यो जुन कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो त्यही नै आर्य सत्य हो ।
भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यही नै दुःख समुदय आर्य सत्य हो, जसलाई पूर्णतया प्रहाण गर्नुपर्छ ।
भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो यही नै दुःख समुदय आर्य सत्य हो, जसको प्रहाण भयो ।
तृष्णाको स्पष्ट अर्थ हो विषय र इन्द्रियका मिलनबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदनाप्रति मनको भोगइच्छा । स्मरणरहोस् यो विषयतृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा हो । संवेदनाका कारणले मात्र विषयप्रिय वा अप्रिय भएको हो । यदि संवेदना सुखद छ भन्ने बढीभन्दा बढी परिणाममा विषय प्राप्त गर्ने मनको इच्छा र संवेदना दुःखद छ भने त्यो दुःखद संवेदना प्राप्त नहोस् भन्ने मनको इच्छा नै तृष्णा हो । यही तृष्णा नै दुःख उत्पतिको मूल कारण हो । मनको संवेदनालाई भोग गर्ने स्वभाव नै संस्कार निर्माणको केन्द्रविन्दु भएकाले दुख समुदय आर्य सत्य साधना यही तृष्णा (संवेदनाप्रतिको तृष्णा) माथि साधना गरिन्छ । जब कोही साधकले दुःख समुदय आर्य सत्यलाई साक्षात्कार गर्ने प्रयास गर्छ तब उसले पनि दुःख समुदय आर्य सत्यका तीन आवृत्तिलाई पार गर्छ, साधनामा उतार्छ ।
दुःख समुदय आर्य सत्य
प्रथमआवृत्ति :– यो दुःख समुदय आर्य सत्य हो ।
दुःखको समुदय आर्य सत्यको प्रथम आवृत्ति यही हो कि मानव जीवनमा दुःख उत्पत्तिको मूल कारण विषय (विषयबाट उत्पन्न हुने संवेदना) प्रतिको तृष्णा हो भन्ने सत्यलाई स्विकार्नु । यस प्रथम आवृत्ति (चरण) मा साधकले संवेदना (चाहे सुखद होस् चाहे दुखद होस्) प्रतिको मनको भोगइच्छा नै दुःखको मूल कारण हो भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार्छ । मनले संवेदनालाई भोग गर्ने स्वभाव (तृष्णा) कै कारण दुःख उत्पत्ति हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ । यस सन्दर्भमा महत्वपूर्ण पक्ष के छ भने प्रतिकुल विषयबाट मनमा उत्पन्न हुने दुःखद संवेदनाप्रतिको तृष्णा दुःख हो भन्ने यथार्थतालाई साधकले सहजै बुझ्छ ।
तर, जुन मानिस जीवन भन्नु भोग गर्नु हो, आनन्द प्राप्त गर्नु हो, भोग गरेर मर्नु हो भन्ने जस्ता धारणा राख्छ, जुन मानिस कामवासना र अन्य भोगबाट प्राप्त हुने सुखद संवेदना पनि अन्ततः विकार उत्पत्तिको कारण भएकाले, मानिसको शारीरिक, मानसिक, बौद्धिक आदि पक्षका विनाशको कारण भएकाले यी सबै क्षणिक सुख पनि दुःखका कारण हुन् भन्ने सत्यलाई बुझ्न सक्दैन, स्वीकार गर्न सक्दैन । यस्ता मानिस साधनाको प्रथम आवृत्ति (चरण) मै प्रवेश गर्दैन । अर्थात् ऊ साधनाका प्रथक चरणमै बाहिरिन्छ ।
त्यस्तै जो व्यक्ति आत्मा छ भन्ने मान्छ, आत्मा अमर छ भन्ने मान्छ, देह र चित्तका पाँच स्कन्धमध्ये कुनै एक स्कन्धलाई ‘आत्मा’ मानेकोले मृत्युपश्चात् पनि आत्मा अमर रहन्छ भन्ने ठानी स्वर्गलोक वा अन्य उच्च लोकमा जन्म प्राप्त गर्ने आशा राख्छ त्यस्ता मानिसले भवतृष्णा वा पुनर्जन्मको तृष्णालाई दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न सक्दैन । यस्ता मानिस पनि साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् । त्यसैगरी जसले मलाई ‘मुक्ति’ चाहियो, म ‘पुनर्जन्म’ चाहन्न भन्ने विभवतृष्णा राख्छ उसले विभवतृष्णामा ‘म’ को नाश नहुने भएकोले यो पनि दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न असमर्थ रहन्छ र यस्तो मानिस पनि साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैन तर जो साधक कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण प्रकारका तृष्णा दुःखका कारण हुन् भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।
दोस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ ।
दुःख समुदयको दोस्रो आवृत्ति हो कामतृष्णा, भवतृष्णा, विभवतृष्णालाई प्रहार वा नष्ट गर्नु पर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्नु । साधनाको यस आवृत्ति वा चिन्तन ज्ञानमा साधकले दुःख समुदय आर्य सत्यको जुन श्रुत ज्ञान प्राप्त भएको थियो त्यस श्रुत ज्ञानमाथि गहन बौद्धिक चिन्तन गर्छ । यदि कुनै साधकले गुरुकृपा, ईश्वर कृपा, तारक ब्रह्मा वा अन्य विधिबाटै यी तृष्णा नष्ट हुन्छन्, यिनलाई नाश गर्न साधनामा प्रवेश गर्न आवश्यक छैन भन्ने मान्यता राख्छ भने ऊ दोस्रो आवृत्तिमा प्रवेश गर्दैन तर जुन साधकले कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण तृष्णालाई साधनाद्वारा नष्ट गर्नुपर्छ भनेर स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।
तेस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।
दुःख समुदयको तेस्रो आवृत्ति हो– संवेदनाप्रतिको तृष्णा प्रहाण भयो, नष्ट भयो भन्ने स्पष्ट अनुभूति । बुद्धिको स्तरमा तृष्णालाई नष्ट गर्नुपर्छ भन्ने स्वीकार गर्दैमा वा बौद्धिक चिन्तन मनन गर्दैमा अवचेतन, अर्धचेतन, चेतन मनमा छिपेका संवेदनाप्रतिका मनका तृष्णा समाप्त हुँदैन । यी तृष्णालाई उच्छेद गर्नका लागि मनको पुरानो स्वभावलाई पूर्णरूपमा नष्ट गर्नुपर्छ । यसैले दुःख समुदयको तेस्रो आवृत्तिमा साधक अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । उसले मनमा उत्पन्न हुने संवेदनाप्रति द्रष्टा भावरूपी साधना प्रारम्भ गर्छ । स्मरणरहोस् दुःखद संवेदनाप्रति समभावमा स्थित रहन केही हदसम्म सहज छ तर जब साधना गहिरिँदै जान्छ, जब काय र चित्तको स्थूलपन नष्ट हुँदै जान्छ, जब मनमा संवेदनाका सुखद आनन्दपूर्ण धारा प्रवाहित हुन थाल्छ, जब साधनामा भङ्ग, प्रश्रब्धि, प्रिति, प्रमोद जस्ता आनन्दपूर्ण, सुखपूर्ण स्थिति उत्पन्न हुन थाल्छ त्यस्तो स्थितिमा साधक समभावबाट च्युत हुन सक्छन् तर ती सुखद संवेदनालाई भोग गर्ने प्रवल सम्भावना रहन्छ ।
यी स्थितिप्रति पनि सचेत साधक जब दीर्घसाधनाद्वारा सुखद तृष्णाहरूका यस भयानक महासागरलाई पार गर्छ तब ऊ निर्वाणको क्षेत्रमा पुग्छ, इन्द्रियातीत क्षेत्रमा पुग्छ । यतिबेला ऊ त्यस्तो क्षेत्रमा पुग्छ, जहाँ मनको तृष्णा (संवेदना भोग इच्छा) पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा मनले संवेदनालाई भोग गर्दैन । यही निर्वाण अनुभूतिको आधारमा ऊ भन्छ कि तृष्णा प्रहाण भयो ।