अब तपाईँ धर्मचक्र प्रर्वतन (उत्पत्ति, आरम्भ) गर्ने साधनाविधिमा प्रवेश गर्न गइरहनुभएको छ । भगवान् बुद्धद्वारा प्रमाणित, प्रतिपादित र प्रचार गरिएको धर्मचक्र प्रवर्तन साधनाविधिमा प्रवेश गर्न गइरहनुभएको छ । यतिबेला सर्वप्रथम एक साधकको रूपमा तपाईँले यस तथ्यमा स्पष्ट हुन जरुरी छ कि भगवान्ले आर्य अष्टाङ्गमार्गभन्दा बाहेक कुनै निर्वाण साधनाविधि प्रतिपादन वा विकास गर्नुभएको छैन । यही आर्य अष्टाङ्गमार्ग साधनालाई नै विपश्यना, महासतिपट्ठान आदि भनिन्छ । त्यसैले धर्मचक्र प्रवर्तन साधना पनि आर्य अष्टाङ्गमार्ग साधना नै हो । यस अध्यायमा विभिन्न स्थानमा धर्मचक्र प्रवर्तन साधना, धर्मचक्र साधना, आर्य अष्टाङ्गमार्ग साधना, विपश्यना साधना आदि उल्लेख गरिए पनि यी सम्पूर्ण शब्दका आशय एकै हो भने बुझिदिनुहुन हार्दिक अनुरोध छ ।
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना
झट्ट सुन्दा चित्त शुद्धि वा चित्तका संवेदनालाई भोग गर्ने स्वभावलाई नाश गर्ने कार्य सरल वा सहज प्रतीत हुन्छ तर चित्तका संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्ने कार्य सबैभन्दा दुरुह वा कठिन कार्य हो । अत्यन्त दुरुह भएकाले नै “साधना” शब्द प्रयोग गरिएको हो ।
“साधना” शब्दको प्रयोगले नै यो साधारण कार्य होइन भन्ने स्पष्ट गर्छ । चित्तशुद्धि गर्ने साधना यति दुरुह हुन्छ कि सांसारिक विषयहरूबाट पूर्ण वैराग्य प्राप्त भगवान्लाई पनि सिद्ध गर्न झण्डै ६ वर्षको पूर्णकालीन साधना गर्नुपरेको थियो । करोडौँमा साधकमा एकदुई जना गम्भीर साधकले मात्र यस्तो चित्त शुद्धिको स्थिति प्राप्त गर्न सक्छन् भन्ने कुरा विभिन्न शास्त्रमा व्याख्या गरिएकाले पनि चित्तको संस्कार नाश गर्ने साधना कति दुरुह साधना हो भन्ने स्पष्ट हुन्छ ।
अब तपाईँ असाधारण साधनामा प्रवेश गर्न गइरहनु भएको छ । अर्थात् करोडौँमा एकदुई जना गम्भीर साधक (महापुरुष) ले मात्र सिद्ध गर्न सकेका साधनामा प्रवेश गर्न गइरहनुभएको छ । यस्तो स्थितिमा तपाईँका मनमा प्रश्न उठ्न सक्दछ कि आखिर निर्वाण प्राप्त गर्न किन यति कठन छ ? वा किन संसारमा (एकदुई बाहेक) अन्य सम्पूर्ण साधक निर्वाण साधनामा असफल हुन पुगेका छन् ? उत्तर हो यसका धेरै कारण छन् । तीमध्ये एउटा हो साधकमा साधनाको सैद्धान्तिक पक्षप्रतिको अज्ञानता वा अस्पष्टता ।
हाल निर्वाण साधना भन्ने बित्तिकै साधनाको सैद्धान्तिक पक्षप्रति प्रष्ट नभई आसन ग्रहण गरिहाल्ने, आँखा चिम्लीहाल्ने, ध्यान साधनामा प्रवेश गरिहाल्ने, साधनामा अलिकति शान्ति र आनन्दका अनुभूति प्र्राप्त हुने बित्तिकै खुसी, आनन्दित भइहाल्ने, रमाइहाल्ने, फुर्किहाल्ने प्रवृत्ति देखिएका छन् तर निर्वाण साधना अत्यन्त गहन साधना हो, जुन यस्तो लहडीपन वा अपरिपक्वताले सिद्ध हुन सक्दैन । तसर्थ निर्वाण साधनामा प्रवेश गर्नुपूर्व साधकले साधनाको सैद्धान्तिक पक्षप्रति पूर्णरूपमा स्पष्ट हुनु जरुरी हुन्छ । यदि तपाईँ साधनाको सैद्धान्तिक पक्षसँग परिचित नभई निर्वाण जस्तो सूक्ष्म साधनामा प्रवेश गर्नुहुन्छ भने तपाईँले साधनालाई विधिपूर्वक सम्पादन गर्न सक्नुहुन्न र साधनाबाट च्यूत हुन पुग्नुहुन्छ ।
यसैले तपाईँ भगवान् बुद्धद्वारा प्रतिपादन आर्य अष्टाङ्गमार्ग साधना वा धर्मचक्र साधनालाई स्पष्टसँग बुझेर विधिपूर्वक साधनामा उतार्न सक्षम हुनुहोस् भन्ने ध्येयले यहाँ साधनाको सैद्धान्तिक पक्षलाई व्याख्या गर्ने प्रयास गरिएको छ । यसक्रममा साधकलाई सजिलो होस् भन्ने हेतुले तलका प्रश्नहरूमाथि पुनरावलोक गरिएको छ ।
धर्मचक्र साधनाको लक्ष्य के हो ?
चित्तमा संस्कारहरू कसरी उत्पन्न हुन्छन् ?
चार सत्य र चार आर्य सत्यका बाह्र आवृतिहरू केके हुन् ?
आर्य अष्टाङ्गमार्ग भनेको के हो ?
धम्म वा प्रकृतिका छ वटा शाश्वत नियमहरू केके हुन् ?
धर्मचक्र साधनाले कसरी निर्वाण प्रदान गर्छ ?
अब आउनुस् यिनीहरूलाई एकएक गरी केलाउने प्रयास गरौँ