अत्यन्त सरल भाषामा भन्नुपर्दा धर्मचक्र साधनाको लक्ष्य इन्द्रिय र विषयको मिलनबाट देह र चित्तको क्षेत्रमा उत्पन्न हुने सुखद वा दुखद संवेदनालाई भोग गर्ने तपाईँको चित्तको स्वभाव (जसलाई विकार, संस्कार, बन्धन, कर्मबन्धन, कर्म बीज, पाप, क्लेश आदि नाम दिइएको छ ) लाई नाश गर्नु हो । चित्तको संस्कार भन्नाले चित्तमा छिपेको कुनै पनि विकार वस्तुहरु वा पदार्थ नभई चित्तको संवेदनालाई भोग गर्ने स्वभावलाई नाश गर्नु हो भनेर बुझ्नुपर्ने हुन्छ ।
चित्तका विकारहरूका कारण तपाईँको जीवनमा दुःखको जन्म हुन्छ र प्रतिपल दुःखी, व्याकुल, निराश भइरहनुहुन्छ । जब तपाईँ चित्तका विकारलाई नाश गर्नुहुन्छ तपाईँ दुःखलाई पनि नाश गर्न सफल हुनुहुन्छ । त्यसैले यस साधनाको लक्ष्य दुःखनाश हो भन्ने आफैँ प्रष्ट हुन्छ । चित्तका विकारहरूकै कारण तपाईँ निर्वाण प्राप्त गर्न असमर्थ हुनुहुन्छ, इन्द्रियातीत जीवनको अनुभूति प्राप्त गर्न असमर्थ हुनुहुन्छ ।
जब तपाईँ चित्तका विकारलाई पूर्णरूपमा नाश गरी चित्त शुद्धिको स्थिति प्राप्त गर्नुहुन्छ, तपाईँले निर्वाण प्राप्त गर्नुहुन्छ । यस अर्थमा यस साधनाको लक्ष्य निर्वाण प्राप्त गर्नु पनि हो । सारांशमा भन्नुपर्दा धर्मचक्र साधनाको लक्ष्य चित्तको विकार (संवेदना भोग गर्ने स्वभाव) लाई नाश गर्दै निर्वाण प्राप्त गर्नु हो ।