यदि धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नाश गर्नु हो भने साधकको रूपमा सर्वप्रथम तपाईँले आफ्नै जीवनमा कसरी संस्कारहरू उत्पन्न हुन्छन् ?, कसरी चित्तका यी संस्कार विस्तार वा शक्तिशाली हुन्छन् ?, कसरी यी संस्कार झन्झन् विस्तार भएर तपाईँको स्वभाव, गुण, प्रकृति आदि बन्न पुग्छन् ?, कसरी यी संस्कार, तपाईँमा बारम्बार विचार वा कर्मका रूपमा प्रकट हुन्छन् ? आदि प्रश्नहरूप्रति स्पष्ट हुन अत्यावश्यक हुन्छ ।
चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पत्तिको प्रक्रियालाई नबुझी तपाईँ निर्वाण उत्पत्तिको रहश्यलाई बुझ्न सक्नुहुने छैन । त्यसैले तपाईँले सर्वप्रथम चित्तमा कसरी संस्कार उत्पन्न हुन्छ भन्ने तथ्यप्रति नै स्पष्ट हुनुपर्ने हुन्छ । चित्तमा कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पन्न हुन्छन् भन्ने तथ्यलाई बुझ्न सर्वप्रथम तपाईँले आफ्नै जीवनको संरचना र जीवनमा धम्मका शाश्वत नियमहरूका कारण स्वतः सञ्चालन भइरहेका जीवन्त जीवनप्रक्रियासँग परिचित हुन पनि उत्तिकै आवश्यक हुन्छ । यहाँनेर के प्रश्न उठ्छ भने आखिर मानिसको जीवनसत्ता र जीवनसत्ताभित्र स्वत क्रियाशील हुने जीवन्त जीवन प्रक्रिया कस्तो छ ?
भगवान् बुद्धका मतानुसार तपाईँको जीवनसत्ता रूप (काय, देह) र नाम (चित्त) को संयोजनबाट निर्मित भएको छ । यस जीवनसत्तामा धम्मका छ वटा शाश्वत नियम पनि समानान्तररूपमा क्रियाशील छन् । निर्वाणका गम्भीर साधकका लागि धम्मका यी शाश्वत नियमका व्याख्या परिशिष्टमा राखिएको छ ।
तपाईँको जीवनका दुई क्षेत्रमध्ये देह क्षेत्रमा पाँच इन्द्रिय (मनसहित छ इन्द्रिय) छन् । यी ६ इन्द्रियका विषय असङ्ख्य छन् । त्यस्तै तपाईँको जुन चित्त क्षेत्र छ त्यस क्षेत्रमा चार भाग वा खण्डहरु छन्, जसलाई विज्ञान, संज्ञा, वेदना र संस्कार भनिन्छ । जब तपाईँका छ इन्द्रिय र विषयका बीचमा कारणवश मिलन हुन्छ तब तपाईँको चित्तको प्रथम (विज्ञान) खण्डले तपाईँलाई इन्द्रिय र विषय (रूप, रस, शब्द, स्पर्श, गन्ध आदि) सँग मिलन भएको जानकारी दिन्छ ।
जब यस्तो जानकारी प्राप्त हुन्छ तब तपाईँको चित्तको दोस्रो खण्ड (संज्ञा) तत्क्षण सक्रिय हुनपुग्छ र चित्तको यस दोस्रो खण्डले तपाईँको पूर्व अनुभवको आधारमा ती विषय (रूप, रस, शब्द आदि) लाई राम्रो–नराम्रो, प्रशंसा–गाली, मीठो– नमीठो आदिमा विभाजन गरिदिन्छ ।
जब यसरी विषयहरू दुई भागमा विभाजित हुन्छन् तब चित्तको तेस्रो खण्ड (वेदना) तत्क्षण सक्रिय हुन थाल्छ र तपाईँमा सुखद अनुभूति (संवेदना) र दुःखद अनुभूति (संवेदना) उत्पन्न हुन थाल्छ ।
जब यसरी तपाईँको देह र चित्तको क्षेत्रमा सुखद वा दुखद संवेदना उत्पन्न हुन्छन् तब तपाईँको चित्तको चौथो खण्ड संस्कार (संवेदनालाई भोग्ने पूर्व स्वभाव) सक्रिय हुन थाल्छ र तपाईँको चित्तले पूर्व संस्कारअनुरूप संवेदना सुखद भए खुसी, दुखद भए दुःखी भएर प्रतिक्रिया दिन थाल्छ । अनि यही क्षणमा तपाईँमा छिपेका धम्म (प्रकृति) को संस्कारबीज सङ्ग्रहको शाश्वत नियमले चित्तको स्वभाव (संस्कार) लाई सुरक्षित राखिदिन्छ । अर्थात् संस्कारबीजको रूपमा सङ्ग्रह गरिदिन्छ ।
जब तपाईँ बारम्बार विषयमा प्रवेश गरी संवेदनाहरूलाई भोगिरहनुहुन्छ तब धम्मको संस्कार वा बीज विस्तारको शाश्वत नियमले तपाईँको संस्कारलाई झन्झन् विस्तार वा शक्तिशाली बनाउँदै ती संस्कारलाई तपाईँका स्वभावमा परिणत गरिदिन्छ । जब संस्कारहरू शक्तिशाली भई तपाईँको गुण वा स्वभावमा परिणत हुन्छ तब धम्मको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियमका कारण तपाईँका मूल गुण स्वतः प्रकट हुँदै जान्छ र तपाईँमा आफ्नै गुण अनुसारको विचार, कर्म आदि घटित हुन थाल्छ ।
अनि यही क्षणमा तपाईँको संस्कार वा गुण आकर्षणको शाश्वत नियमका कारण तपाईँको जस्तो गुण वा प्रकृति छ त्यस्तै विषय वा व्यक्तितर्फ आर्कषित हुन थाल्नुहुन्छ र तपाईँका गुण, स्वभाव, धर्म आदि झन्झन् विस्तार तथा शक्तिशाली हुँदै जान्छन् । यही क्षणमा धम्मको प्रतित्यसमुत्पाद वा कारण–कार्यको शाश्वत नियमले तपाईँमा क्रियाशील हुन पुगी तपाईँमा दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न गर्छ । प्रतित्यसमुत्पादको नियमले संस्कारबीज प्राप्त गरेपछि कसरी तपाईँमा यी अनेक चक्र उत्पन्न गर्छ ? भन्ने प्रश्नको व्याख्या दोस्रो अध्यायमा गरिसकिएको छ । यसरी तपाईँमा धम्मका शाश्वत नियमहरूको संयोजनमा संस्कार उत्पत्ति विस्तार आदिको सतत चक्र चलिरहेको छ ।
धर्मचक्र प्रवर्तन भन्नु नै माथि व्याख्या गरिएको जीवन प्रक्रिया, जुन जन्म–जन्मान्तरदेखि तपाईँमा संस्कारहरू उत्पत्ति, विस्तार आदिको चक्र उत्पन्न भइरहेको छ, यही चक्र वा प्रक्रियालाई आर्य अष्टाङ्गमार्गका आठ साधनाद्वारा हस्तक्षेप गरी धर्मचक्र वा निर्वाणचक्र उत्पन्न गर्नु हो ।