जब धर्मचक्र वा आर्य अष्टाङ्गमार्ग साधनाको चर्चा चल्छ तब चार सत्य र चार आर्य सत्य पनि सँगै जोडिएर आउँछ । जब चार सत्य, चार आर्य सत्य, चार सत्यका बाह्र आवृति आदि शब्द आउँछन् तब प्रायः साधक अलमलिन्छन् । चार सत्य, चार आर्य सत्य, चार आर्य सत्यका बाह्र आवृत्तिको व्याख्या चौथो अध्यायमा गरिसकिएको छ ।
धर्मचक्र साधना प्रवेशको यस क्षणमा तपाईँले चार सत्य, आर्य अष्टाङ्गमार्ग साधनाको सैद्धान्तिक आधार हो भन्ने तथ्य र धर्मचक्र साधनामा यिनै चार सत्यलाई आर्य अष्टाङ्गमार्गद्वारा साधनामा उतारिन्छ भन्ने तथ्यप्रति स्पष्ट हुन अत्यावश्यक हुन्छ । साथै तपाईँले आफ्नै दुःखका कारण (दुःख समुदय सत्य) लाई आर्य अष्टाङ्गमार्ग (मार्ग सत्य) द्वारा नाश गरी दुःख (दुःख सत्य) को नाश र निर्वाण (निरोध सत्य) को प्राप्तिका लागि नै यस साधनामा प्रवेश गर्न गइरहनुभएको छ भन्ने तथ्यप्रति पनि स्पष्ट हुन आवश्यक छ ।
तपाईँ कुनै अमुक आत्मा, परमात्मा, परमधाम, परमात्मा दर्शन, दिव्यलोक दर्शन जस्ता अप्रमाणित विषय प्राप्त गर्न गइरहनुभएको छैन । बरू आफ्नै चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) नाश गर्ने साधनामा प्रवेश गर्न गइरहनुभएको छ भन्ने तथ्यप्रति स्पष्ट हुन अत्यन्त आवश्यक छ ।