संवेदनाहरू उत्पत्तिको अनुभूति गर्नुहोस् । तँपाई केही समय अर्थात् २–३ मिनेटसम्म आनापानसति साधनालाई यथाभूतरूपमा अवलोकन गर्नुहोस् । त्यसपछि ध्यानलाई नासिकाको तल र ओठमाथिको त्रिकोण क्षेत्रमा केन्द्रित गर्नुहोस् ।
जब तपाईँ नासिका तलको त्रिकोण क्षेत्रमा ध्यानलाई केन्द्रित गर्दै प्राकृतिकरूपमा प्रवाहित श्वासलाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ शनैःशनैः तपाईँका नासिका तलको त्रिकोणात्मक क्षेत्रमा अनेक प्रकारका सुखद (चिसो, आनन्द, मधुर प्रवाह आदि) दुखद (चिलाएझैँ, पोलेझैँ आदि) संवेदना उत्पन्न हुन थाल्छन् । तपाईँ सधँै यस तथ्यप्रति होशपूर्ण रहनु होस् कि सुखद वा दुःखद संवेदनालाई भोग गर्ने मनको स्वभावलाई परिवर्तन वा नष्ट गर्न साधनामा प्रवेश गर्नुभएको हो ।
जब नासिकाको त्रिकोण क्षेत्रमा सघनरूपमा संवेदना उत्पन्न हुन प्रारम्भ गर्छ यसको अर्थ हुन्छ तपाईँको चित्त सूक्ष्म बन्दै गइरहेको छ वा चित्त संवेदनाहरूमाथि साधना गर्न तयार भएको छ । जब तपाईँलाई यस्तो स्थितिको बोध हुन्छ तपाईँ ध्यानलाई शिरको माथिल्लो भाग वा तालुमा केन्द्रित गर्नुहोस् । जब तपाईँले ध्यानलाई यसरी शिरको माथिल्लो भागमा स्थापित गर्नुहुन्छ, छोटो समयमै तपाईँ त्रिकोण क्षेत्रमा उत्पन्न भएका संवेदनाझैँ यस क्षेत्रमा पनि सुखद र दुखद संवेदना उत्पन्न भएको अनुभूति प्राप्त गर्नुहुनेछ ।