अर्थात् कायका संस्कार वा स्वभावको प्रश्रब्धि वा शान्तपना अथवा कायको चञ्चल संस्कार नष्ट भई काय शान्त भएको अनुभूति प्राप्त हुनु ।
विपश्यना साधनाको आठाँै चरणको अनुभूति हो कायको प्रश्रब्धि वा सान्तपना । जब तपाईँ साधना प्रारम्भ गर्नुहुन्छ, साधनामा सहज आसन ग्रहण गरेर पलेँटी मारेर बस्नुहुन्छ तब साधनाको प्रारम्भिककालमा मनको स्वभावले मात्र नभई कायका अनेक संस्कारले पनि तपाईँलाई दुःख दिन्छ । दीर्घकालसम्मको स्वभावका कारण सुविधाजनक स्थितिमा रहने स्वभाव विकसित भएको देहलाई जब साधनाकालमा शान्त, चुपचाप पलेँटी मारेर आसनमा राख्ने प्रयास गरिन्छ त्यस क्षणमा देहका संस्कारहरूले विद्रोह गर्न प्रारम्भ गर्छ । यस अवस्थामा तपाईँ छिनछिनमा आसन परिवर्तन गरिरहने, हात, खुट्टा चलाउने, शरीरमा असहजपना, उकुसमुकुस आदिको अनुभूति प्राप्त गर्नुहुन्छ ।
तर, जब तपाईँ दीर्घकालसम्म कायानुपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ, जब तपाईँ शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म उत्पन्न भएका संवेदनामाथि साधना गर्न प्रारम्भ गर्नुहुुन्छ त्यस्तो अवस्थामा साधनाका कारण तपाईँको चित्तमा सङ्ग्रहित विकार नष्ट हुन थाल्छ । जब यसरी विकार नष्ट हुन थाल्छ तब चित्त विकार नाशको यस प्रक्रियासँगै तपाईँको शरीरको असहजपना, मनको चञ्चलता पनि शनैःशनैः क्षय हुँदै जान्छ ।
स्मरणरहोस् मनुष्य देहमा अनुभूति हुने स्थूल घनत्वपना, गह्रौँपना, असहजता, आलश्य आदि स्थूल मांशपेशीका कारण भएको हुँदैन । गहिराइमा सम्पूर्ण काय मात्र परमाणुपुञ्जका रूपमा उपस्थित छ । यस परमाणुपुुञ्जरूपी देहमा गह्रौँपना पूर्णरूपमा अनुपस्थित छ । देहमा जुन गह्रौँपना, घनापना आदि अनुभूति हुन्छ त्यो देह र चित्तमा सङ्ग्रहित विकारका कारण नै हुन्छ ।
जब साधनाद्वारा विकारहरू नष्ट हुन थाल्छ तब शरीरको यस चञ्चलता, असहजपना आदि संस्कार पनि शनैःशनैः नष्ट हुँदै जान्छ । अन्ततः साधनामा एउटा यस्तो स्थिति आउँछ, जहाँ तपाईँ घण्टौँसम्म हलचल नगरी ध्यानासनमा सहजरूपमा बसिरहन सक्षम हुनुहुन्छ । कायको चञ्चलता नष्ट भएको यस स्थितिलाई “प्रश्रव्धि” भनिन्छ ।
कायानुपश्यना साधनामा प्रश्रब्धि अवस्था साधनाको दीर्घकालपश्चात् नै आउँछ । यो ‘कायसङखार’ अवस्थामा श्वासप्रश्वासको गतिसँग काय लयवद्ध हुन जाँदा श्वासप्रश्वासको गति अत्यन्त सूक्ष्म र धिमा हुन पुग्छ । यस्तो स्थितिमा पनि जागरुक साधकले कायको चञ्चलतापूर्ण संस्कार (स्वभाव) लाई प्रश्रव्ध (शान्त) गर्दै श्वास लिन सिक्छ । उसले कायको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास छोड्न सिक्छ ।