अर्थात् ‘यो काय हो’ भन्ने कुरामा स्मृति प्रतिष्ठापित हुनु अथवा साधकको स्मृति यो ”तरङ्गपुञ्ज“काय हो, काय तरङ्गैतरङ्गको पुञ्ज हो भन्नेमा स्थापित हुनु ।
कायानुपश्यनाको साधनाको यस उच्च साधना स्थितिको व्याख्यामा प्रवेश गर्नुपूर्व निर्वाण साधनाका दृष्टिले ‘भङ्ग’ अवस्थालाई पुनः एक पल्ट अवलोकन गर्नु सान्दर्भिक देखिन्छ । महासतिपट्ठान साधनाका दृष्टिले ‘भङ्ग’ एक असाधारण महत्वको स्थिति हो । कायानुपश्यना साधनाको यस स्थितिमा तपार्इँ निर्वाणतर्फ अग्रसर हुने विशिष्ट पात्रत्व मात्र प्राप्त गर्नुहुन्न अपितु साधनाको सुखद भासमा अलमलिई साधनाबाट च्यूत हुने सम्भावना पनि उत्तिकै प्रबल रहन्छ । भङ्ग अवस्थामा सम्पूर्ण काय क्षेत्रमा परमाणुहरूका तरङ्ग मात्र उपस्थित नभई अष्टकलाप (चार महाभूत र तिनका गुण, स्वभाव, धर्मका कारण कायमा उत्पन्न हुने अनेक अनुभूतिपूर्ण तरङ्ग), प्रिति–प्रमोद (साधनाद्वारा विकारहरू नष्ट भई चित्त शुद्ध हुँदै जाँदा मनमा उठ्ने आनन्द वा प्रितिमय तरङ्ग), प्रश्रब्धि (साधनाद्वारा कायको विकार नष्ट हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना) आदि साधनाका अनेक परिणाम वा अवस्था प्राप्त हुन थाल्छन् । फलतः तपाईँको काय र चित्तको क्षेत्रमा सुख, आनन्द र शान्तिका अनेक मधुर लहर फैलिन थाल्छ । यद्यपि यी सम्पूर्ण सुखद अनुभूति पनि विनाशी वा क्षणिक अनुभूति नै हुन्, पञ्चस्कन्धभित्रका असत् अनुभूति हुन् ।
कैँयौँ साधक (खासगरी विपश्यना साधना बाहेक अन्य मोक्ष साधनाविधिद्वारा मोक्ष प्राप्त गर्न प्रयासरत साधकहरू) साधनाका यी अनुभूतिप्रति परिचित नभएकाले यिनै अनुभूतिलाई निर्वाण अनुभूतिको संज्ञा दिँदै ‘भोग’ गर्न थाल्छन् । यी संवेदनाप्रति रागपूर्ण प्रतिक्रिया प्रारम्भ गर्न थाल्छन् । भित्रभित्र खुसी, हर्षित आदि हुन थाल्छन् । जब साधकले यसरी साधनाका सुखद संवेदनालाई भोग गर्न थाल्छ त्यस क्षणमा धम्मका नियमहरूले रागरूपी बीज प्राप्त गर्न थाल्छ र परिणाम स्वरूप महासतिपट्ठान साधनाको मूल मर्म कुनै पनि प्रकारका “संवेदनाप्रति न राग, न द्वेष” को स्थितिबाट च्यूत भई साधक साधनाबाट नै च्यूत हुन पुग्छ । उसले साधनामा बन्धन प्राप्त गरी निर्वाणको विपरीत दिशातर्फ गमन गर्न थाल्छ ।
तर, महासतिपट्ठान साधनाको गम्भीर साधक जब साधनाकालका अनेक सुखद संवेदना पनि पन्चस्कन्धको क्षेत्रभित्रकै असत अनुभूति हुन् भन्ने तथ्य बुझी साधनालाई निरन्तरता दिइरहनुहुन्छ । जब तपाईँ साधनामा आतापी, स्मृतिवान् र प्रज्ञावान् बनिरहनुहुन्छ यस्तो अवस्थामा तपाईँ विपश्यना साधनाको अन्तिम विशिष्ट चरणबाट गुज्रिन थाल्नुहुन्छ । प्रश्न उठ्छ कि विपश्यना साधनाका ती विशिष्ट चरण केके हुुन् ? उत्तर हो ती विशिष्ट चरण भनेका अनित्यबोध, अनात्मबोध र अन्ततः निर्वाणबोध हुन् ।