अर्थात् शरीर मात्र परमाणुको पुञ्जरूपी अनित्य भाव अथवा तरङ्गको यस पुञ्जरूपी शरीर अनित्य हो भन्ने भाव पुष्ट हुनु ।
जब तपाईँलाई विपश्यना साधनाको ‘भङ्ग’ अवस्था प्राप्त हुन्छ त्यस क्षणमा तपाईँ स्वयंको अन्तर चक्षुमा प्रामाणिकरूपमै यस स्थूल काय भन्नु परमाणुहरूका पुञ्ज मात्र रहेछ भन्ने प्रज्ञा प्राप्त गर्न थाल्नुहुन्छ । देहका यी परमाणु पनि प्रतिक्षण उदय–व्यय, उदय–व्यय हुने प्रकृतिका रहेछन्, क्षणभङ्गुर रहेछन्, अनित्य रहेछन् भन्ने जस्ता प्रज्ञा प्राप्त गर्न थाल्नुहुन्छ । जब तपाईँलाई काय यसरी स्पष्टरूपमा तरङ्गैतरङ्गको प्रवाहझैँ बोध हुन थाल्छ यस क्षणमा तपार्इँ यसरी तरङ्गैतरङ्गरूपी कायलाई ‘म’ र ‘मेरो काय’ आदि भन्न असमर्थ रहनुहुन्छ अथवा चेतन, अर्धचेतन, अवचेतन मनले यो परमाणुरूप तरङ्गलाई स्थूल देह वा ‘म’ मान्न छोड्न थाल्छ । यो एक असाधारण क्रान्तिको क्षण बन्छ । यस्तो स्थितिमा तपाईँ यस देहलाई अनित्य हो भन्ने घोषणा गर्नुहुन्न्छ । तपाईँ यस क्षणमा ‘देह अनित्य हो’ भन्ने निश्चय गर्नुहुन्छ वा घोषणा गर्नुहुन्छ । यस्तो घोषणा कुनै बौद्धिकरूपमा गरिएको ‘देह अनित्य हो’ रूपी घोषणा नभई कायानुपश्यना साधनाबाट प्रामाणिकरूपमै तपाईँले प्राप्त गर्नुभएको ज्ञान (प्रज्ञा) हुन्छ ।
यसरी देह अनित्य हो भन्ने बोध प्राप्त भएपश्चात् पनि जब तपाईँ साधनालाई निर्वाण प्राप्त नभएसम्म निरन्तरता दिइरहनुहुन्छ तब साधनाको निरन्तरतासँगै तपाईँमा यो अनित्य बोध भाव झन झन् पुष्ट हुँदै जान्छ । जब यो अनित्य बोध भाव पुष्ट हुँदै जान्छ तब तपार्इँमा एकअर्को असाधारण भावको जन्म हुन्छ । त्यो हो अनात्मबोध । अनात्मबोध नै मूल अविद्या मानिएको ‘म’ भाव नष्ट हुन प्रारम्भ भएको निर्वाण साधनाको अन्तिम र असाधारण क्षण हो । यही हो आध्यात्मिक क्रान्तिको मूल क्षण । यो निर्वाण क्षेत्रको अन्तिम खुड्किलो पनि हो ।