(अहं रूपी ‘म’, ‘मेरो’ भावको नाश अथवा ‘म देह होइन’ भन्ने भावको प्रामाणिक ज्ञान प्राप्त हुनु ।
जबसम्म मानिसमा देहबुद्धिजनित ‘म’ र ‘मेरो’ आदि भाव नष्ट हुँदैन तबसम्म मानिसमा भोक्ताभाव उपस्थित भइरहने हुनाले निर्वाण प्राप्त गर्न सकिन्न । त्यसैले निर्वाण प्राप्तिका लागि यो ‘म’ वा अहंरूपी मूल अज्ञान नष्ट हुन अत्यन्त आवश्यक छ भन्ने तथ्यमा संसारका सम्पूर्ण मोक्ष शास्त्र एक मत छन् तर जब ‘म’ भाव नाशको प्रश्न उठ्छ, तब अर्को महत्वपूर्ण प्रश्न खडा हुन्छ भने कसरी यो ‘म’, वा मूल अविद्या नष्ट हुन्छ ?
निर्वाण साधनाको यस गहन वा केन्द्रिय प्रश्नमा अन्य मोक्ष साधनाविधि अस्पष्ट छन् वा मौन छन् । कैँयौँ धर्म, ईश्वर, गुरु, दर्शन आदिसँग जोडिएका सम्प्रदाय वा धार्मिक मतहरू यो ‘म’ भाव वा मूल अज्ञानलाई ईश्वरकृपा, गुरुकृपा, तारक ब्रह्मा आदिद्वारा मात्र नाश गर्न सकिन्छ भन्ने विश्वास गर्छन् तर भगवान् बुद्धद्वारा प्रतिपादित यस महासतिपट्ठान साधनामा ‘म’ भाव नष्ट गर्ने साधना प्रक्रिया स्पष्ट छ । त्यति मात्र होइन प्रामाणिक पनि छ, वैज्ञानिक पनि छ, साधनाद्वारा नै प्राप्य छ, जसलाई निम्नानुसार केलाउन सकिन्छ ।
जब विपश्यना साधनामा तपाईँ (माथि व्याख्या गरिएका महासतिपट्ठान साधनाका अनेक चरण पार गरेपश्चात् “देह अनित्य हो” भन्ने प्रामाणिक बोध गर्नुहुन्छ, यो पञ्चस्कन्ध तरङ्गैतरङ्ग मात्र हो भने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ तब तपाईँ यस तरङ्गका पुञ्जरूप देहमा ‘म’ र ‘मेरो’ भन्नुपर्ने कुनै वस्तुको उपस्थिति देख्न असमर्थ रहनुहुन्छ । क्षण भङ्गुर तरङ्गलाई कसरी ‘म’ र ‘मेरो’ भन्ने ? यस्तो अवस्थामा तपाईँ द्विविधामा पर्न सक्नुहुन्छ तर द्विविधामा पर्नुपर्दैन । यस साधनामा तपाईँमा रहेको ‘म’ र ‘मेरो’ भन्ने भाव (मूल अज्ञान, मूल अविद्या) शनैःशनैः पग्लिँदै जान थाल्छ । जतिजति तपाईँको मूल अविद्या पग्लिँदै जान थाल्छ तपाईँलाई स्वयंको यथार्थ स्वरूप झन्झन् स्पष्ट हुँदै आउँछ ।
अनित्य बोधबाट अनात्मबोधसम्मको साधना यात्रामा होसियार हुनुपर्ने तथ्य के छ भने जब तपाईँलाई यो देह र चित्तको क्षेत्र तरङ्गैतरङ्ग मात्र हो भन्ने बोध प्राप्त हुन्छ यसपश्चात् पनि जन्म–जन्मान्तरदेखि अवचेतन मनले ‘म’ भावलाई दह्रोसँग समाउँदै आएकाले यो ‘म’ भाव सहजै नाश हुँदैन । ‘म’ नाश हुनु भनेको मेरो अस्तित्व सधैँको लागि नष्ट हुनु हो भन्ने भय र डर अवचेतन मनमा छिपेका कारण अवचेतन मनले यो ‘म’ र ‘मेरो’ भावलाई समाइरहन्छ । साधनाको यस्तो अवस्थामा तपाईँले देहलाई परमाणुको तरङ्गैतरङ्गको रूपमा बोध गरे पनि ‘म’ भाव नाश हुँदैन । त्यसैले साधनाको लामो समयसम्म साधकमा अनित्यबोध र म बोध पनि सँगसँगै चलिरहन्छन् ।
जब तपाईँ निर्वाण पदलाई प्राप्त गरेरै छाड्ने लक्ष्य लिनुहुन्छ, साधनामा झन्झन् आतापी स्मृतिवान्, संप्रज्ञानी बनिरहनुहुन्छ, साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपाईँको म भाव पनि पग्लिँदै जान्छ र शनैःशनैः अहंरूपी अनात्मबोध, ममत्वबोध, अहंबोध, मबोध, मेरो बोध पनि सम्पूर्णरूपमा विलय भएर जान्छ । यस्तो स्थितिमा तपाईँले ‘म देह होइन’ भन्ने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ । यस क्षणमा तपाईँको अवचेतन मनले ‘म देह होइन’ भन्ने सत्यलाई स्वीकार गर्छ र ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ ।
यस्तो अवस्थामा जब तँपाई ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ तब यो कुनै श्रुतज्ञानमा आधारित अनुभव विहीन बौद्धिक घोषणा वा मिथ्या घोषणा हुँदैन । यो विपश्यना साधनाको लामो साधना प्रक्रियाद्वारा तपाईँले स्पष्टरूपमा प्राप्त गर्नुभएको प्रामाणिक अनुभूति हुन्छ । स्मरणरहोस् वर्तमान समयमा गुरुहरू वा साधकहरू ‘म देह होइन’ ‘म आत्मा हो’ भन्ने घोषणा त गर्छन् तर त्यो घोषणा विपश्यना साधनाका बाह्र चरणबाट गुज्रिएर प्राप्त प्रामाणिक घोषणा नभई एक भ्रमपूर्ण घोषणा हो, मात्र श्रूतज्ञान हो ।