प्रस्तुत श्लोकमा मुक्तिको दुर्लभता प्रकाश पारिएको छ –
जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम् ।
आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति– र्मुक्तिर्नो शतकोटिजन्मसु कृतैः पुण्यैर्विना लभ्यते ।। २ ।।
जीवहरूका लागि प्रथमतः मानव जन्म नै दुर्लभ छ । योभन्दा पनि दुर्लभ पुरुषत्व छ । ब्राम्हणतङ्खव अझ दुर्लभ छ । योभन्दा पनि दुर्लभ बैद्धिक धर्ममार्गमा शास्त्रहरूद्वारा प्रतिपादन गरेअनुसार छ । यो अनुसरणभन्दा दूर्लभ विद्वता छ । यी सबैभन्दा दुर्लभ आत्मा र अनात्माको विवेचना गरेर आत्म–साक्षात्कार प्राप्तगरी ब्रह्मरूप नित्य स्थितिरूपी मुक्ति छ । जुन रूप करोडौँ जन्ममा गरिएका शुभ (पुण्य) कर्मविना प्राप्त हुन सक्दैन ।।२।।
मानव जन्म प्रारब्धले हुन्छ । यो प्रारब्ध कहिले, कसरी प्राप्त हुन्छ ? ईश्वरीय नियमहरूको नियन्त्रणमा छ । तसर्थ, मानव भएर पृथ्वीमा जन्मन पाउनु अत्यन्त दुर्लभ अवसर हो । मानव भएर जन्मन पाउनु यति धेरै दुर्लभ छ कि शास्त्रहरूले पनि स्वर्गादि देवयोनिलाई भोगयोनिको संज्ञा दिँदै ‘नुतन कर्म’ गर्ने अवसर प्राप्त हुने भएकाले मनुष्य योनिलाई ‘देवयोनि’भन्दा उच्च स्थानमा शास्त्रहरूले राखेको पाइन्छ । मनुष्ययोनिबाहेक अन्य योनिमा स्वतन्त्र कर्म गर्न सम्भव नभएकाले तथा चेतनासमेत यो स्तरमा विकास नभएकाले मनुष्य जन्म अत्यन्त दुर्लभ र मोक्षका दृष्टिले एक अमूल्य अवसर हो । हामीलाई प्रारब्ध कर्मले मोक्षसम्म लैजान सक्ने चेतनायुक्त मानव जन्म प्राप्त भयो, तर मानव जन्म मात्र मोक्षको लागि प्रर्याप्त भने हुँदैन ।
मोक्षको दृष्टिले मानव जन्मभन्दा पनि दुर्लभ तत्व हो, पुरुषार्थ वा गहन कार्यसम्पादन गर्ने संकल्प र क्षमता । जीवनमा पुरुषार्थ गर्न नसकी वासना चिन्तन र तृप्तिमा नै मनुष्य जीवन समाप्त भएर गएका कैयन् उदाहरणहरू हाम्रै वरिपरि छन् ।
मानव जन्म प्राप्त भयो । पुरुषार्थ गर्ने संकल्प पनि प्राप्त भयो । तर बैद्धिक धर्मशास्त्रहरुद्वारा निर्देशित विविध कर्म एवं उपाशनाद्वारा चित्त शुद्ध भएपश्चात् तीव्र मोक्ष प्राप्त गर्ने इच्छा नभएमा मोक्ष प्राप्त गर्न सकिँदैन । अतः यो संसारमा मुक्त हुने इच्छा थोरै मनुष्यहरूलाई मात्र हुन्छ ।
मनुष्य जन्म प्राप्त भयो, यसमा पनि पुरुषार्थ गर्न योग्य शरीर एवं धर्मकर्मादिद्वारा चित्त शुद्धि, वैराग्य प्राप्त गर्न सफल भयौं, तर आत्मा–अनात्माको विवेक गर्न सकिएन भने अनात्म वासनाले जीवलाई सांसारिक बन्धनमात्र प्रदान गर्दछ । यसकारण मुमुक्षु पुरुषले निरन्तर संसार–मिथ्याको अभ्यास गर्दै स्वःस्वरूपमा निशंक भावले स्थिति प्राप्त गर्ने अभ्यास गर्नुपर्दछ ।