बन्धनको नाश वा मोक्ष प्रारम्भ नै वैराग्य चिन्तनबाट प्रारम्भ हुन्छ । यो चिन्तन स्थूल शरीरको व्याख्याबाट गरिएको हो ।
त्वङ्मांसरूधिरस्नायुमेदोमज्जास्थिसङ्कुलम् ।
पूर्णं मूत्रपुरीषाभ्यां स्थूलं निन्द्यमिदं वपुः ।।८९।।
हाड, मासु, रगत, छाला, नसा, स्नायु, मांसपेशीको समूह अनि मलमूत्र आदिले भरिएको यो स्थूल शरीर अति निन्दनीय छ । ।।८९।।
माथिका कैयन् श्लोकहरूमा अज्ञान जनित देह, देह पोषण, स्त्री, पुत्रपुत्रादी मोह आदिलाई बबन्धनका रुपमा व्याख्या गरिएको छ । शिष्यको अर्को प्रश्न छ – बन्धन नष्ट कसरी हुन्छ ? वा मोक्ष प्राप्त कसरी हुन्छ ? तलका श्लोकहरूमा यो प्रश्नको व्याख्या गरिएको छ ।
यो श्लोकमा देह–मोहरूपी बन्धनलाई नष्ट गर्न विषय दोष वा वैराग्य चिन्तनलाई दृढ गर्न आदि गुरु भन्नुहुन्छ – हे शिष्य ! तिम्रो शरीर हाड, मासु, रगत, छाला, नसा आदि अनि मलमुत्रले भरिएको थैलो हो । साधारण मानिसहरूले मलमूत्रले भरिएको कोपराप्रति जुन उदासिन दृष्टि दिन्छन्, यो देहप्रति तिमी पनि त्यही दृष्टि देऊ । किनकि हाड, मासु, रगत, छाला, मलमूत्र आदिको थैलो यो शरीरले, तिमीले नचाहँदा नचाहँदै बालक, युवा, वृद्धहुँदै मृत्यु प्राप्त गर्दछ । यस्तो नाशवान्, परिवर्तनशील, तिम्रो नियन्त्रणमा नरहेको देहप्रति प्रेम गर्नुपर्ने, आसक्त हुनुपर्ने कुनै कारण छैन । त्यसैले तिमी शरीरप्रतिको आशक्तिलाई त्याग गर ।
पञ्चीकृतेभ्यो भूतेभ्यो स्थूलेभ्यः पूर्वकर्मणा ।
समुत्पन्नमिदं स्थूलं भोगायतनमात्मनः ।
अवस्था जागरस्तस्य स्थूलार्थानुभवो यतः ।।९०।।
पूर्वकर्म अनुसार (पञ्चिकृत) पाँच महाभूतद्वारा उत्पन्न यो स्थूल शरीर आत्माको (जीवात्माको) भोग स्थान हो । यसको अवस्था जाग्रत छ । जसले गर्दा स्थूल पदार्थको अनुभव हुन्छ । ।।९०।।
श्लोक ७६ मा पञ्चमहाभूत (आकाश, वायु, अग्निी, जल, पृथ्वी) का सूक्ष्म कणहरूको मिश्रणबाट स्थूल शरीरको निर्माण हुन्छ भनिएको छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – पूर्वजन्मको कर्मफल वा प्रारब्ध कारणबाट प्राप्त हुने यो स्थूल शरीर जीव वा मनुष्यको दुःख, सुख, चिन्ता, विषाद आदि भोग गर्ने भोगस्थान मात्र हो । यही शरीरमा मनुष्य स्वकर्मका फलहरू भोग्दछ । शरीरका पाँच इन्द्रियहरूको भोगस्थान पनि यही स्थूल शरीर हो । फेरि यो स्थूल शरीरको प्रतीति मात्र जागृत अवस्थामा रहन्छ । स्वप्न वा सुषुप्ति अवस्थामा यो स्थूल देहको प्रतीति (आभास) हुँदैन । यही स्थूल शरीरद्वारा जाग्रत अवस्थामा अन्य स्थूल पदार्थको अनुभव हुन्छ ।
बाह्येन्द्रियैः स्थूलपदार्थसेवां स्रक्चन्दनस्त्त्यादिविचित्ररूपाम् ।
करोति जीवः स्वयमेतदात्मना तस्मात्प्रशस्तिर्वपुषोऽस्य जागरे ।।९१।।
बाह्य इन्द्रियहरूबाट माला, चन्दन, स्त्री आदि नाना प्रकारका स्थूल पदार्थको भोग स्थूल शरीरमार्फत नै जीव स्वयं गर्दछ । यसकारण जाग्रत अवस्थामा यो स्थूल शरीरकै प्रधानता रहन्छ ।।।९१।।
अघिल्लो श्लोकमा भनिसकिएको छ – स्थूल शरीर नै मनुष्यको भोगस्थल हो । यो श्लोकमा थप व्याख्या गर्दै भनिएको छ – देह बुद्धियुक्त यो जीव (मनुष्य) देहमा स्थित पाँच इन्द्रियमार्फत चन्दन,
स्त्री, माला आदि विचित्र प्रकृतिका भोगपदार्थहरू ग्रहण गर्दछ । शरीरमा जागृत, स्वप्न र सुषुप्ति तीन अवस्थाहरू छन्, तर जागृत अवस्थामा स्थूल शरीरको प्रधानता रहने हुनाले मनुष्य मन, इन्द्रिय र देहको वशमा अनेकन भोग कर्म गर्दछ । सारांशमा मलमूत्र, मासु निर्मित स्थूल देह भोगदेह मात्र हो । सपना अवस्थामा, स्थूल शरीरको प्रधानता नहुने हुँदा मनले सूक्ष्म शरीरमार्फत अनेकन सपनाहरूमार्फत विषय भोग गर्दछ ।
सर्वोऽपि बाह्यसंसारः पुरुषस्य यदाश्रयः ।
विद्धि देहमिदं स्थूलं गृहवद् गृहमेधिनः ।।९२।।
पुरुषको सम्पूर्ण बाह्य संसार जहाँ आश्रित छ, यो स्थूल शरीरलाई गृहस्थको घरजस्तै मान । ।।९२।।
जसरी गृहस्थ मानिस घरमा रहेर गृह कर्महरू गर्दछ त्यस्तै सांसारिक जीव पनि यही स्थूल शरीरको आश्रय लिएर मन र इन्द्रियमार्फत वासनाभोग आदि विभिन्न प्रकारका कर्महरू गर्दछ । जब यो स्थूल शरीर नष्ट हुन्छ, जीवको बाह्य जगत्सँगको सम्बन्ध नष्ट हुन्छ । वेदान्त दर्शन भन्दछ – स्थूल शरीर नष्ट (मृत्यु) भएपछि जीव सूक्ष्म शरीरमार्फत त्यसमा छिपेका अनेकौं वासना बोकी अनेकन लोकमा विचरण गरी वासनाअनुरूप अनेकौं योनिहरू प्राप्त गर्छ, र ती विषयहरूको भोग गरिरहन्छ । स्मरण रहोस्, निद्रा अवस्थामा पनि इन्द्रियको निष्क्रियतामा मनमार्फत जीवले अनेकौं सपनाहरूदेखि भोगसम्म गर्न सक्दछ । प्रश्न उठ्दछ कि यदि बाह्य इन्द्रिय निष्क्रिय रहेको सपनामा सूक्ष्म शरीर (मन) सपनामार्फत भोग गर्दछ भने मृत्युपछि सूक्ष्म शरीर नष्ट नहुने हुँदा मनले वासनाभोग गर्न किन विभिन्न जुनी लिन सक्दैन ?
स्थूलस्य सम्भवजरामरणानि धर्माः
स्थौल्यादयो बहुविधाः शिशुताद्यवस्थाः ।
वर्णाश्रमादिनियमा बहुधायमाः स्युः
पूजावमानबहुमानमुखा विशेषाः ।।९३।।
जन्म, बुढ्यौली, मृत्यु, स्थूलता आदि स्थूल शरीरका धर्म हुन् । शिशु आदि अवस्थाहरू, वर्णाश्रम आदि नियमहरू, विविध प्रकारका रोग, पूजा, मान, अपमान आदि स्थूल शरीरका विशेषता हुन् । ।।९३।।
स्थलु शरीरलाई अझ स्पष्टरुपमा व्याख्या गर्दै यो श्लोकमा भनिएको छ – यो जन्म, बुढ्यौली, मृत्यु आदि घटनाहरू जुन मानिसको जीवनमा घट्दछन् । यी स्थूल देहको धर्म भएकाले यिनीहरू मात्र स्थूल शरीरमा घटित हुने घटनाहरू हुन् । त्यस्तै, शरीरमा देखिने शिशु, कुमार, बुढ्यौली आदि परिवर्तनहरू पनि स्थूल शरीरमा घटित हुने परिवर्तनहरू हुन् । ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र (चार वर्ण); ब्रह्मचार्य, गृहस्थ, वानप्रस्थ, संन्यास (चार आश्रम); यी वर्ण र आश्रमका विविध नियमहरू; त्यस्तै पूजा, प्रशंसा मान, अपमानहरू आदि जीवनका अनेकन अवस्थाहरू, घटनाहरू मात्र स्थूल शरीरसँग सम्बन्धित वस्तुहरू हुन् ।
असँग, अक्रिय, अविनाशी, नित्य शाश्वत आत्मा, यी स्थूल देहका धर्मविशेष सम्बन्धबाट पूर्ण पृथक्् छ । सारांशमा मनुष्य जीवनमा घट्ने सम्पूर्ण घटनाहरू, परिवर्तनहरू, भोगकर्महरू स्थूल देहसँग सम्बन्धित वस्तु हुन् ।