देहका दश इन्द्रियहरूका माध्यमद्वारा इन्द्रिय कार्य गर्न र विषयबोध गर्न सक्षम हुन्छ । अब अन्तःकरण चतुष्ट्यको निरूपण गरिन्छ ।)
निगद्यतेऽन्तःकरणं मनोधीरहंकृतिश्चित्तमिति स्ववृत्तिभिः ।
मनस्तु सङ्कल्पविकल्पनादिभिर्बुद्धिः पदार्थाध्यवसायधर्मतः ।। अत्राभिमानादहमित्यहङ्कृतिः स्वाथानुसन्धानगुणेन चित्तम् ।।९५,९६।।
आ–आफ्नो वृत्तिको कारण अन्तःकरण चार प्रकारका मानिन्छन् । जसलाई मन, बुबुद्धि, चित्त र अहंकार भनिन्छ । सङ्कल्प–विकल्प आदि गर्ने भएकाले मन, वस्तु÷पदार्थको निश्चय गर्ने भएकाले बुद्धी, देह आदिमा ‘म’ को अभिमान गर्ने भएकाले अहंकार, स्व—इष्ट (स्वार्थ) वस्तुको चिन्तन गर्ने भएकाले चित्त भनिन्छ । ।।९५,९६।।
वेदान्त दर्शनअनुसार देहको बनावट बाह्य स्थूलरूपमा मात्र सीमित छैन । स्थूल देह र दश इन्द्रियहरूसँगै शरीरमा अन्तःकरण पनि छ । वस्तुतः मनुष्यमा अन्तःकरण एउटा मात्र छ । आ–आफ्नो वृत्तिअनुसार अन्तःकरणलाई मन, बुबुद्धि, चित्त र अहंकार गरी चार भागमा विभक्त गरिएको छ । जब अन्तःकरण अनेकौं कल्पनाहरू तथा संशय (सङ्कल्प–विकल्प गर्दछ अथवा यो ठीक छ, यो राम्रो छ, छैन, आदि भन्ने अन्तःकरणको वृत्तिलाई ‘मन’ भनिन्छ ।
जब कल्पना वा संशयमाथि निर्णय दिइन्छ (यो ठीक छ, यो बेठीक छ, यो राम्रो छ आदि) अन्तःकरणको यो वृत्तिलाई बुबुद्धि भनिन्छ । जब मनुष्य देहमा अभिमान गरी यसलाई आत्मा सम्झिएर ‘म, ‘मेरो’ आदिको कर्ता, भोक्तारूपी व्यवहार गर्दछ, अन्तःकरणको यो वृत्तिलाई ‘अहंकार’ भनिन्छ । जब पूर्वसंस्मरणको चिन्तन तथा स्वार्थ वा स्व–इष्ट वस्तुको चिन्तन हुन्छ, अन्तःकरणको यो वृत्तिलाई ‘चित्त’ भनिन्छ । यसरी मनुष्यको अन्तःकरण एक भए पनि विभिन्न वृत्तिको कारणले चार भागमा बाँडिएका हुन् ।