शिष्यको प्रश्न ‘बन्धन के हो ?’ को सम्बोधन अध्यासको व्याख्या गरी यो श्लोकबाट सुसुरू गरिएको छ ।
अत्रानात्मन्यहमिति मतिर्बन्ध एषोऽस्य पुंसः प्राप्तोऽज्ञानाज्जननमरणक्लेशसम्पातहेतुः ।
येनैवायं वपुरिदमसत्सत्यमित्यात्मबुद्ध्या
पुष्यत्युक्षत्यवति विषयैस्तन्तुभिः कोशकृद्वत् ।।१३९।।
अनात्म देहमा ‘अहं’ (म हुँ) भन्ने बुद्धि हुनु नै पुरुषको बन्धन हो । अज्ञानले गर्दा प्राप्त यो बन्धन जन्म, मरण र क्लेश आदिका कारण हो । यही कारणले पुरुष असत् शरीरमा आत्मबुद्धि गर्दै यसैलाई सत्य मानेर, रेसमको किरा स्वयंले बनाएको तन्तु (कोश) मा फसेर मरेजस्तै विषय सेवनद्वारा पोषण, सिञ्चय र रक्षा गर्दछ । (र अन्ततःनष्ट हुन्छ) ।।।१३९।।
अनात्म देहमा ‘अहं’ (म हुँ) भन्ने बुद्धि हुनु नै पुरुषको बन्धन हो । अज्ञानले गर्दा प्राप्त यो बन्धन जन्म–मरणको कारण हो । किनकि जब मनुष्य स्वयंलाई देह मान्दछ तब देह, इन्द्रिय र मनका अनन्त इच्छा–वासनाहरूको तृप्तिमा नै लीन रहन्छ । यी वासनामय कर्महरूले मनुष्यको तमोगुणी र रजोगुणी स्वभावको झन् वृद्धि गर्दछ । जब मृत्यु हुन्छ, मृत्युपश्चात् पनि यी वासनाहरू सूक्ष्म शरीर हुँदै अर्को जन्ममा पुग्दछन् । वेदान्त दर्शन भन्दछ – जस्तो वासनाको प्रकृति छ, त्यस्तै जुनी प्राप्त हुन्छ । जबसम्म मोक्ष प्राप्त हुँदैन यो शरीरले यिनै वासनाहरूको स्वभावअनुसारको योनी प्राप्त गरीरहन्छ ।
यसको उदाहरण दिँदै आदिगुरु भन्नुहुन्छ – जसरी रेसमको किरा स्वयंले बनाएको कोशमा फसेर बाहिर निस्कन असमर्थ भई मृत्युलाई प्राप्त गर्छ त्यसैगरी मनुष्य पनि अनात्म शरीरलाई ‘म हुँ’ भन्ने मानेर जीवनपर्यन्त अनेकन इन्द्रिय विषय सेवन गरी विषयभोगहरूबाट निस्कन नसकी यिनै विषयहरूमा वसीभूत भएर नष्ट हुन्छ । अनि जन्म–मरण आदि सम्पूर्ण अनर्थरूप दुःखलाई प्राप्त गर्दछ ।
श्लोक (१२७ देखि लिएर श्लोक १३८ सम्म)मा सद्गुरुले ‘आत्मा के हो ?’ भन्ने प्रश्नको उत्तर दिनुभएको छ । शिष्यको प्रश्न ‘बन्धन के हो ?’ को उत्तर माथिका कैयन श्लोकहरूमा समेटिएको छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – यो अनात्म (जड वा चैतन्यरहित शरीर) लाई स्व–स्वरूपको ज्ञानको अभावमा वा ‘म हुँ’ भन्नु नै बन्धन हो वा स्वयं आत्मा हुँदाहुँदै अज्ञानवश ‘म शरीर हुँ’ भनेर बुझ्नु वा अनात्म देहमा देहबुद्धि हुनु नै पुरुषको बन्धन हो ।
अतस्मिंस्तद्वुद्धिः प्रभवति विमूढस्य तमसा
विवेकाभावाद्वै स्फुरति भुजगे रज्जुधिषणा ।
ततोऽनर्थब्रातो निपतति समादातुरधिक–
स्ततो योऽसद्ग्राहः स हि भवति बन्धः शृणु सखे ।।१४०।।
तमोगुणले विमूढ भएको मनुष्यलाई अनात्मामा आत्मबुद्धि हुन्छ । विवेकको अभावमा डोरीमा सर्पको भान हुन्छ । यसबाट (डोरीलाई
सर्प सम्झिँदा नै) भय आदि अनर्थ समूह प्राप्त हुन्छ । त्यसैले हे मित्र हो, असत्लाई सत्य सम्झिएर ग्रहण गर्नु नै बन्धन हो । ।।१४०।।
जसरी साँझ प्रकाशको अनुपस्थितिमा सत्य–असत्य छुट्याउन नसक्दा डोरीलाई सर्प ठानी मनुष्यमा भय–कम्पन आदि पैदा हुन्छ । त्यस्तै, तमोगुणले ढाकिएको मुढबुद्धि मनुष्य पनि सत्य र असत्य पदार्थ छुट्याउन नसक्दा (वा विवेकरहित हुँदा) अनात्म शरीरमा नै आत्मबुद्धि गरी देह, इन्द्रिय, मन, बुद्धि आदिका अनेकन बन्धनहरू प्राप्त गर्दछ । यसैले यो असत् देहलाई सत्य सम्झिएर ग्रहण गर्नु नै बन्धन हो ।