ज्ञानी शिष्य गुरूप्रति पुनःकृतज्ञता ज्ञापन गर्दछन् ।
स्वाराज्यसाम्राज्यविभूतिरेषा भवत्कृपाश्रीमहिमप्रसादात् ।
प्राप्ता मया श्रीगुरवे महात्मने नमो नमस्तेऽस्तु पुनर्नमोऽस्तु ।।५१८।।
हे गुरुदेव ! हजुरको कृपा र महिमाको प्रसादबाट मलाई यो स्वराज्य साम्राज्यको विभूति प्राप्त भएको छ । अतः हजुर महात्मा गुरुदेव प्रति मेरो वारम्वार नमस्कार छ । ।।५१८।।
गुरुदेवको सद्वचनहरूद्वारा समाधि स्थिति प्राप्तभई मुक्त शिष्य गुरूप्रति मनमा रहेका श्रद्धा व्यक्त गर्दै भन्छन् कि हे गुरुदेव ! हजुरको म प्रतिको कृपा र हजुरको ज्ञानको महिमाबाट आज मैले मोक्षरूपी स्वराज्य साम्राज्यको विभूति प्राप्त गरें । यो सम्पूर्ण हुजुरको कृपाद्वारा सम्भव भएको हो । म हजूर महात्मा गुरुदेवप्रति कृतज्ञ भई वारम्वार नमस्कार गर्दछु ।
महास्वप्ने मायाकृतजनिजरामृत्युगहने
भ्रमन्तं क्लिश्यन्तं बहुलतरतापैरनुदिनम् ।
अहङ्कारव्याघ्रव्यथितमिममत्यन्तकृपया प्रबोध्य
प्रस्वापात्परमवितवान्मामसि गुरो ।।५१९।।
महास्वप्नमा मायाजनित जन्म, वृद्धावस्था, मृत्युरूपी वनमा भट्कदै प्रतिदिन नाना प्रकारका तापले संतप्त र अहंकाररूपी बाघबाट व्यथित यस्तो मलाई कृपापूर्वक निद्राबाट जगाएर हे गुरुदेव हजुरले मेरो ठूलो रक्षा गर्नुभयो । ।।५१९।।
शिष्य नम्रशब्दमा गुरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै भन्दछन् कि हे गुरुदेव अज्ञानरूपी सपनामा स्वयंलाई देह मान्दै म मायाजनित जन्म, मुत्युरूपी वनमा पथविस्मृत यात्री झैं भट्कदै प्रतिदिन नाना प्रकारका वासनाहरूको तापले संतप्त अनि देहबुद्धिजनित अहंकाररूपी बाघबाट व्यथित भएर संसारको दुःखपूर्ण महासागरमा निसास्सीरहेको थिएँ । यस्तो अज्ञानी सांसारिक मलाई हजुरका सदवचनरूपी शब्दहरूले अज्ञानमय निद्राबाट जगाएर ज्ञानको मार्ग प्रदर्शित गरी जन्म मृत्युरूपी यो महासागरबाट उद्धार गरेर मेरो रक्षा गर्नुभयो । म हजुरप्रति कृतज्ञ छु ।
नमस्तस्मै सदेकस्मै नमश्चिन्महसे मुहुः ।
यदेतद्विश्वरूपेण राजते गुरुराज ते ।।५२०।।
हे गुरुदेव म हजुरको यो जुन विश्वरूपबाट शोभित तेज (ज्योति) छ । त्यसलाई नमस्कार छ । सदा एकरूप यो महान् तेजलाई वारम्वार नमस्कार छ । ।।५२०।।
ब्रह्मभावमा स्थित शिष्य जसको लागि जगत्मात्र ब्रह्म छ । गुरुदेव पनि ब्रह्म हुनुहुन्छ । शिष्य सम्पूर्ण विश्वलाई ब्रह्मको रूपमा देख्दछ ।
यसैले उनी भन्दछन्, हे गुरुदेव म हजुरको त्यो सर्वोत्कृष्ट तेज ज्योति जो सँधैं एकरूप, ज्ञानरूप, महान् छ । त्यो तेजलाई म नमस्कार गर्दछु । म हजुर ब्रह्मलाई नमस्कार गर्दछु । म हजुरको विश्वरूप त्यो परमतेजलाई वारम्वार नमस्कार गर्दछु । कृतज्ञताका यी शब्दहरू भनिसकेपछि शिष्य मौन हुन्छ ।