कृष्ण ईश्वर हुन् कि होइनन् ? कृष्ण ईश्वका अवतार हुन् की होइनन् ? आदि प्रश्नहरुको स्पष्ट उत्तर प्राप्त गर्न कृष्णको जन्म कहाँ भयो ? कृष्णको जन्म कस्तो परिस्थितिमा तिनको जन्म भयो ? कृष्णको जन्मको क्षणमा के कस्ता अलौकिक घटनाहरु घटे ? आदि बुझ्नु पर्दैन । न त कृष्णलाई ईश्वर हुन की होइनन् यो सत्य बुझ्न कृष्णका वाल्यकाल र युवावस्थाहरुसँग जोडिएका तिनका शक्ति, सामथ्र्य, लिलाहरुका अनेकन् कथा किंवदन्तिहरु सम्म नै पुग्नु पर्दछ । न त कृष्णलाई ईश्वर हुन् कि होइनन् भनि प्रमाणित गर्न कृष्णको कृष्णको धरती, पशुपंक्षी, गाईदेखि यौवनाहरुको हृदयलाई तरङ्गीत गरी भक्तिधारा प्रवाहित गराउने अलौकिक मधूर बाँसुरीको धूनलाई स्मृति गर्नुपर्दछ । न त माथिका घटनाहरुको आधारमा कृष्ण ईश्वर हुन् भनी श्रद्धा वा स्वीकार नै गर्नु पर्दछ ।
कृष्ण ईश्वर हुन् कि होइनन् ? यो सत्यको प्रमाण गीता स्वयं हो । गीताका विद्वत्ता, तर्क, धारणा निरत प्रत्येक शव्द शव्द हुन् । गीताका प्रत्येक शव्दमा प्रकट अकाट्य सत्य नै हो । सृष्टि, जगत उत्पति, मनुष्य उत्पति, जीवन संरचना, जीवन प्रकृया, बन्धन, बन्धनका कारणहरु, मोक्ष, मोक्ष साधना विधिहरु, मोक्ष जीवनका लक्षणहरु, मृत्यु, मृत्यू पश्चातको मानिसको गति, पुनर्जन्म जस्ता अत्यन्त गहन विषयहरुमा भगवानले गीतामा प्रदान गर्नुभएको अलौकिक, असाधारण र अकाट्य ज्ञान नै हुन् ।
संसारका विशिष्ट भन्दा विशिष्ट विद्वानहरु पनि सृष्टि, जीवन, बन्धन, मोक्ष, मृत्यु, मृत्यू पश्चातको जीवन गति जस्ता गहन विषयमा ‘स्पष्ट’ रुपमा बोल्न असमर्थ छन् । जिवन के हो ? मानिसको मनको प्रतिक्षणको दुख के हो ? मानिसको मनको दुखको कारणहरु के हुन् ? मानिसको मनको दुखहरु निवारण गर्ने उपाएहरु के हुन् ? जिवनको विकास के हो ? के जिवनको आन्तरीक विकास सम्भव छ ? जिवनको आन्तरीक विकासको चरम स्थिति के हो ? आदि प्रत्येक मानिसको जिवनमा जोडीएका ति प्रश्नहरु हुन् जून प्रश्नहरुको सहि उत्तर वा समाधान प्रदान गर्न स्टानफोर्ड, हार्वड, कोलम्बीया, अक्सफोर्ड आदि विश्व विद्यालयहरका विशीष्ट विद्वानहरु असमर्थ छन् । संसारीक विद्वानहरु यि गहन विषयहरुमा आफ्नो विचारहरु, धारणाहरु, तर्कहरु आदि व्यक्त गर्न सक्दछन् । (समरण रहोस् सांसारीक विद्धानहरुले यि विषयहरुमा व्यक्त गर्ने विचारहरु स्वयंको मोलीक वा प्रामाणीक ज्ञान नभई यि विषयहरुमा अनेकन् शास्त्रहरुमा प्राप्त जानकारीहरु ने हुन् ) तर भगवान् कृष्ण झैँ विचार, धारणा, तर्क आदिहरुबाट माथि उठेर अकाट्य रुपमा ‘यहि सत्य हो ’ भनेर घोषणा गर्न असमर्थ छन् । यसैले गीताका शब्दहरुलाई आधार मान्दा पनि यो स्पष्ट छ कि कृष्ण अवतार हुन् । कृष्ण साकार साक्षात ईश्वर हुन् । गीताका शव्दहरु कुनै विद्वान महापुरुषका शब्दहरु होइनन् । यो संसारको विशिष्ट भन्दा विशिष्ट विद्वान पनि जनम, मृत्यु, पुर्नजन्म, मृतय पश्चातका गतिहरु जस्तो प्रश्नहरुको उत्तर प्रदान गर्न असमर्थ छ । यसर्थ, गीताका शब्दहरु प्रामाणिक रुपमा साकार रुपमा प्रकट विशुद्ध परमात्मा तत्वको शब्दहरु वा अभिव्यक्तिहरु हुन् । यसैले त कृष्ण यस्तो असाधारण घोषणा गर्न समर्थ छन् ।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।१८–६६।।
यसैले सम्पूर्ण धर्म (कर्तव्यकर्म) हरु त्यागेर तिमी केवल एक ‘म’ जिवन्त परमात्मा सत्ताको शरणमा आउ, म तिमीलाई सम्पूर्ण पाप (संस्कार) बाट मुक्त गर्नेछु । तिमी शोक नगर ।
मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।
अथ चेत्त्वमहङ्कारान्न श्रोष्यसि विनङ्क्ष्यसि ।।१८–५८।।
यसप्रकार ममा निरन्तर चित्त लगाउने भएर तिमी मेरो कृपाले मन र इन्द्रियका सम्पूर्ण विघ्नहरु (संस्कारहरु) अनायास नै पार गर्नेछौ, यदि तिमी अहंकारको कारण मेरो वचनलाई सुन्दैनौ भने तिमी पतन हुनेछौ वा नष्ट हुनेछौ ।
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।।१८–६५।।
हे अर्जुन ! तिमी ममा मन भएको बन । मेरो भक्त बन । मेरो श्रद्धापूर्वक पुजा गर्ने बन । (र) मलाई नै नमन वा नमस्कार गर । यसो गर्नाले तिमी मलाई नै प्राप्त हुनेछौ । यो म तिम्रो सामु सत्य प्रतिज्ञा गर्दछु, किनकी तिमी मलाई अत्यन्त प्रिय छौ ।
कृष्ण किन ईश्वर हुनुहुन्छ ? किन साधारण मानिस हुनुहुन्न भन्ने सत्यलाई युद्धमा कृष्णको भुमिकाले पनि स्पष्ट पार्दछ । कुरुक्षेत्रमा कृष्णको उपस्थिति अर्जुनको सारथीको रुपमा छ । सारथी वा एक साधारण रथ चालक । भगवान त्यो भूमिकामा हुनुहुन्छ, जहाँ शिष्यले गुरुलाई आज्ञा दिन सक्दछ । अनि गुरुले त्यो स्वीकार गर्नुपर्दछ । फेरि भगवान कृष्णले सारथीको भूमिका सहज रुपमा निभाइरहनुभएको छ । उहाँ शिष्यले जहाँ जहाँ भन्दछ, त्यहिँ त्यहिँ रथ लगिरहनु भएको छ । फेरि भगवान पूर्ण शान्त ‘सम’ स्थितिमा हुनुहुन्छ । उहाँमा न म गुरु हुँ भन्ने बोध छ । न अर्जुन शिष्य हुँन् भन्ने बोध छ । न समाजले शिष्यको स्थानमा रहेको गुरुको भूमीकालाई कसरी मूल्याङ्कन गरिरहेको छ ? भन्ने चिन्ता वा चासो छ । न त शिष्यको रथ चलाइरहेको छु भन्ने बोधले अहंलाई चोट पुगी कतै गहिराइमा मन दुखिरहेको छ । भगवान् शान्त सम स्थितिमा हुनुहुन्छ । के यो स्थिति साधारण मानिसमा सम्भव छ र ?
कृष्ण साधारण मानिस होइनन्, ईश्वर हुन् भन्ने अर्को झलक पनि गीतामा नै देख्न सकिन्छ । युद्धभूमीमा अर्जुन काका, मामा आदि स्वजनहरुबाट मोह प्राप्त गरेका छन् । तिनी धर्म के हो ? अधर्म के हो ? आदि विषयहरुमा भगवान कृष्णलाई एक लामो धार्मिक झै प्रतित हुने प्रवचन दिइरहेका छन् । फेरि भगवान् कृष्ण विषय बन्धनको कारणले सिर्जित यो मीथ्या प्रवचनको क्षणमा भगवान मात्र मुस्कुराएर सुनिरहनु भएको छ । भगवान् पूर्णतः प्रतिक्रिया विहीन हुनुहुन्छ ।
अन्ततः विषयको सघन मोहमा परेका अर्जुन युद्ध त्यागको घोषणा गर्दछन्, यो युद्धमा अर्जुनको युद्ध त्यागको अर्थ हुन्छ पाण्डवहरुको पराजय । भगवान् पाण्डवहरुको युद्धको जय पराजयसँग जोडिनुभएको छ । पाण्डवहरुको पराजयको स्पष्ट अर्थ हुन्छ – स्वयं (कृष्ण) को पराजय अथवा असाधारण शक्तिवान पुरुषको रुपमा चर्चित कृष्णको व्यक्तित्वको सम्पूर्ण रुपमा अवशान । भगवान यि सम्पूर्ण तथ्यहरुसँग परिचित हुनुुहुन्छ । फेरि भगवान् अर्जुनको युद्ध त्यागको घोषणाले रत्तिभर पनि विचलित हुनुहुन्न । उहाँ सदाझैँ ‘सम’ स्थितिमा हुनुहुन्छ । मुस्कुराइरहनु भएको छ । प्रतिक्रिया विहीन हुनुुहुन्छ । उहाँको मनको शान्त सागरमा अर्जुन प्रति कुनै क्रोध र रोषका भावहरु पनि उठेका छैनन् । मात्र अर्जुनको अज्ञानता प्रति करुणाका लहरहरु उठेको छ । के यो साधारण मानिसको मनको स्थिति हुन सक्दछ र ? के यो कुनै सांसारीक महापुरुषको जिवनमा सम्भव छ ? माथिका सम्पूर्ण तथ्यहरुबाट यो स्पष्ट छ कि भगवान् कुनै साधारण पुरुष वा विशिष्ट महापुरुष हुनुहुन्न, भगवान् स्पष्ट रुपमा ईश्वरीय अवतार हुनुहुन्छ ।