अवतारहरु अत्यन्त शक्तिशाली छन् । सामथ्र्यवान् छन् । अनेकन् सिद्धिहरुले युक्त छन् । यि अवतारहरुले अनेकन् असाधारण कार्यहरु सम्पन्न गरेका उदाहरणहरु पनि छन् । असाधारण रुपमा शक्तिशाली दैत्यहरुलाई नाश गरेका छन् । मात्र स्पर्शद्वारा अन्धा, बहिरा, दीर्घरोगीहरुलाई स्वस्थ बनाएका छन् । मृतकलाई जीवन दिएका छन् । फेरि यि अवतारहरुको एक सिमितता के छ भने यि अवतारहरु मानिसलाई मोक्ष प्रदान गर्न असमर्थ छन् । यि अवतारहरु हत्केला उठाएर कसैलाई आर्शिवाद दिए झैँ ‘मोक्ष कृपा’ प्रदान गर्न असमर्थ छन् । अवतारहरुले प्रत्यक्ष रुपमा वरदान दिएर कुनै भक्तले मोक्ष प्राप्त गरेको उदाहरणहरु कुनै ‘सत्य’ शास्त्रहरुमा पाइँदैन । गीता नै यो सत्यको प्रमाण छ ।
अवतारहरुको यो असमर्थताले ईश्वर कृपा, सद्गुरु कृपा, गुरु कृपा आदि जस्ता जुन प्रचलित धारणाहरु र विश्वासहरु छन्, ति विश्वासहरु मिथ्या, भ्रामक र झूठा हुन् भन्ने प्रमाणित गर्दछ । यो सत्यलाई स्पष्ट रुपमा गीतामा नै देख्न सक्नुहुन्छ ।
गीतामा एक निर्णायक युद्धको लागि युद्धभूमीमा प्रवेश गरेका अर्जुन काका, मामा, गुरु आदि स्वजन (वा जगत विषय) बाट बन्धन प्राप्त गर्दछन् । विषयहरुबाट बन्धन प्राप्त गरेकै कारण अर्जुन युद्ध लड्न असमर्थ भई रथको पछिल्लो भागमा आएर बस्दछन् । जबसम्म अर्जुनको मनमा यि स्वजनहरु प्रति प्रेम, स्नेह वा रागरुपी ‘संस्कारहरु’ उपस्थित रहन्छन्, त्यो स्थितिसम्म अर्जुन विषय बन्धनबाट मुक्त हुन सक्दैनन् । मोक्ष प्राप्त गर्न सक्दैनन् । समभावी भएर युद्ध (कर्म) गर्न असमर्थ रहन्छन् ।
फेरि भगवान कृष्ण अर्जुनका मनमा उपस्थित ‘संस्कारहरु’को नाश गर्न असमर्थ हुनुहुन्छ । उहाँ शक्तिशाली दैत्यहरुलाई भष्म गर्न सक्नुहुन्छ । अनेकन् असम्भव झै प्रतित हुने असाधारण कर्महरु गर्न समर्थ हुनुहुन्छ । तर अर्जुनको मनमा उपस्थित संस्कारहरुलाई भष्म गर्न असमर्थ हुनुहुन्छ । हत्केला उठाएर अर्जुनलाई आर्शिवाद दिए झैँ “मोक्ष प्रदान” गर्न असमर्थ हुनुहुन्छ । यसर्थ, उहाँ अर्जुनले विषय बन्धनहरुलाई नाश गरी मोक्ष प्रापत गर्न सकुुन् भन्ने ध्येयले नै गीता वाचन प्रारम्भ गर्नुहुन्छ । भगवान् अर्जुनलाई कुन कुन मोक्ष साधना विधिहरुद्वारा मनका यि विषयहर प्रतिका रागपुर्ण संस्कारहरुलाई विनाश गरेर मोक्ष प्राप्त गर्न सकिन्छ ? भन्ने बारेमा लामो व्याख्या दिनुहुन्छ । उहाँ अर्जुनलाई सांख्ययोग, कर्मयोग, ध्यानयोग, भक्तियोग र अनेकन् समत्वबुद्धियोगका अनेकन् साधना विधिहरुको त्रान प्रदान गर्नुहुन्छ ।
अवतारहरु असिमित रुपमा शक्तिशाली भए पनि प्रत्यक्ष रुपमा मोक्ष प्रदान गर्न असमर्थ रहन्छ भन्ने सत्य भगवान बुद्धको जीवनमा पनि स्पष्ट देख्न सकिन्छ । जसरी गीतामा अर्जुन भगवान कृष्णका प्रिय सखी वा शीष्य छन् । त्यस्तै भिक्षु आनन्द पनि भगवान बुद्धको प्रिय शिष्य छन् । आनन्द भगवान बुद्धको प्रिय शिष्य मात्र नभई झण्डै पच्चीस वर्ष सम्म भगवान बुद्धको निजी सचिवको रुपमा कार्यरत छन् । तिनले छायाँ झैँ भगवानलाई पछ्याएका छन् । तिनी मेधावी छन् । शास्त्र प्रविण छन् । तिनको स्मरण शक्ति पनि असाधारण छ । यो क्रममा भगवान् बुद्धको विपश्यना साधना हजारौँ साधकहरुले अरहंत वा मोक्ष अवस्था प्राप्त पनि गरिसकेका छन् । आनन्द वर्षौवर्ष देखी भगवान्ले बताउनु भएको विधि अनुरुप नै साधना गरीरहेका छन्, फेरि तिनी निर्वाण प्राप्त गर्न असमर्थ छन् । समयको धारामा भगवानको जीवनको अन्तिम समय तर्फ बढिरहेका छन् । भगवान स्वयंले आफ्नो महापरिनिर्वाणको मिति घोषणा गरिसक्नुभएको छ । फेरि पनि आनन्द अरहंत (निर्वाण) अवस्था प्राप्त गर्न असमर्थ छन् । भगवान बुद्ध अनेकौँ असाधारण सिद्धिहरुले युक्त हुनुहुन्छ । देवलोक, ब्रम्हलोकको भ्रमण गर्न सक्षम हुनुहुन्छ, फेरि आनन्दलाई निर्वाण प्रदान गर्न असमर्थ हुनुहुन्छ । आनन्दका चित्तका संस्कारहरुलाई नाश गर्न असमर्थ हुनुहुन्छ । आनन्दलाई हत्केला उठाएर शास्त्रहरुमा वर्णन गरीए झैँ तथास्तु भनेर निर्वाण कृपा प्रदान गर्न असमर्थ हुनुहुन्छ । जीवनका अन्तिम क्षण पूर्व आनन्दलाई भन्नुहुन्छ – ‘आनन्द तिमीले लामो समय सम्म हित सुख, मैत्रीपूर्ण कायिक, मानसिक र वाचीक कर्मद्वारा तथागत (बुद्ध) को सेवा गरेका छौ । तिमी कृतपूण्य छौ । अब तिमी प्रधान पराक्रम (निर्वाण साधना) गर । अनास्रव (संस्कार रहित) बन । अरहंत बन ।’
स्पष्ट छ – अवतारहरु मोक्ष प्रदान गर्न असमर्थ छन् । ईश्वर कृपा, गुरु कृपा अनुपस्थित छन् । मोक्ष प्राप्त गर्न स्वयंले मोक्ष साधना गर्नु पर्दछ ।