यो त्रिगुणी संस्कारहरुले कसरी मानिसलाई कस्तो प्रभाव पार्दछन् ? त्रिगुणी संस्कारहरुको मानिसको जीवनमा के महत्व छ ? वा असर पार्दछन् ? यो प्रश्नको जवाफ प्राप्त गर्न कुनै शास्त्र अध्ययन गर्नु पर्दैन । भगवान कृष्णका वचनहरु सुन्नु पर्दैन । न त त्रिगुणहरुको कारणले पुत्र मोहमा परी दरवारमा छट्पटाइरहेका राजा धृतराष्ट्र, राज्यमोहमा परी युद्धभूमीमा अशान्त बनिरहेका दूर्योधन, स्वजनको मोहमा परी आँखाभरी आँसू गरी युद्धभूमीमा युद्ध त्यागी बसेका अर्जुनको स्थितिलाई हेर्नु नै पर्दछ । यो प्रश्नको ‘सत्य’ जवाफ प्राप्त गर्न प्रत्येक मानिसले स्वयंको जीवनलाई अवलोकन गरे पुग्दछ । प्रतिपल स्वयंको मनमा उत्पन्न हुने विचार, मन आकर्षण भइरहेको विषय, जीवनमा कर्मको दिशा आदिलाई हेरे पुग्दछ । स्वयंको जीवन दुःखी छ कि खुसी छ बुझे पुग्दछ । स्वयंको स्वभाव वा व्यक्तित्वमा प्रेम, सहयोग, सदभाव, सकारात्मकता आदि प्रकट भइरहेको छ ? कि चञ्चलता, अस्थिरता, ईष्र्या, लोभ, स्वार्थ, नकारात्मकता आदि प्रकट भइरहेको छ ? बुझे पुग्दछ ।
यथार्थतामा मानिसको जीवन सम्पूर्ण रुपमा गुणबाट नै नियन्त्रित हुन्छ । यहाँ प्रत्येक मानिसमा प्रत्येक फल गुण नै प्रकट छ । जब मानिस इन्द्रिय, मन, बुद्धि भन्दा माथिको ‘जागरुक’ स्थितिमा स्थित रहन सक्दैन । जब उ सतत् समभावको ‘साधना’ स्थितिमा स्थित रहँदैन । ति सम्पूर्ण अवस्थाहरुमा मानिसका सम्पूर्ण विचारहरु, कर्महरु त्रिगुणहरुद्वारा नै नियन्त्रित हुन्छन् । महासागरको जहाजलाई हावाले हरण गरेर लगे झैँ त्रिगुणहरुले नै मानिसको विचार र कर्मलाई हरेर लान्छन् । गुणहरुले मानिसको जीवनमा पार्ने असाधारण प्रभावको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन ।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ।।३–७।।
तर हे अर्जुन ! जो पुरुष मनद्वारा इन्द्रियहरुलाई वसमा गरेर अनाशक्त भई सम्पूर्ण इन्द्रियहरुद्वारा कर्मयोगको आचरण गर्दछ, त्यो श्रेष्ठ छ ।
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ।।३–३३।।
सम्पूर्ण प्राणी प्रकृतिलाई प्राप्त हुन्छन् । ज्ञानी पुरुष पनि स्वप्रकृति अनुसार नै चेष्टा गर्दछन् । फेरि यो (नियम) मा कसैको हठले के गर्दछ ?
गीता अध्याय चौध, अध्याय सत्र, अध्याय अठारमा भगवान कृष्णले त्रिगुणहरुले मानिसमा पार्ने प्रभावको वृहत व्याख्या गर्नुभएको छ । कैयन् उदाहरणहरु दिनुभएको छ ।
स्पष्ट छ – तीन गुणहरुले प्रभाव नपार्ने कुनै क्षेत्र वा पक्ष नै मानिसको जीवनमा अनुपस्थित छ । यहाँ मानिसको जीवन भन्नु नै मात्र सर्वत्र गुणहरु कै प्रकटिकरण छ ।