दुःख (संवेदना वा अनुभूति) प्राप्त हुँदा दुःख हुन्छ । सुख (सुखद संवेदना) प्राप्त हुँदा खुशी हुन्छ । जब उ यसरी विषय (संवेदना) हरुलाई भोग्दछ, उ पुनः संस्कार नै निर्माण गर्दछ । उ एक अन्तहीन संस्कार निर्माणको प्रकृयाले चलाइरहन्छ । बन्धन नै प्राप्त गरिरहन्छ ।
किन मानिस जीवनमा दुःखी छ ?
पञ्चइन्द्रियहरु, जगतका इन्द्रिय विषयहरु, शाश्वत विषयहरुको कारण जब मानिसमा जगतका असंख्य विषयहरु प्रति राग र द्वेषका संस्कारहरु उत्पन्न भए समयको धारामा जीवन सत्ताका शाश्वत नियमहरुले यि विषयहरु प्रतिका राग वा द्वेषरुपी संस्कारहरुलाई झन् झन् विस्तारित गर्दै लगे । शक्तिशाली बनाउँदै लगे । गुण नै प्रकट हुने यो जीवनसत्तामा (३–२७, ३३) अन्ततः मानिस रागपूर्ण विषयहरु प्रति झन् झन् आकर्षण अनि द्वेषपूर्ण विषयहरु प्रति झन् झन् विकर्षण वा द्वेष भावहरु उत्पन्न हुँदै गए । फेरि, शाश्वत नियमले यिनै विषय रागद्वेषहरुलाई झन् झन् शक्तिशाली बनाउँदै गए । यसरी मानिस विषय राग र द्वेषको एक ‘अनवरत’ द्वन्द्वमा फस्न पुग्यो । सुख प्राप्त गर्ने प्रयासमा दुःखमा फस्न पुग्यो । रागपूर्ण विषयहरु प्राप्त नहुँदा झन् झन् क्रोधित हुँदै गयो । यसरी मानिसमा जीवन संरचनाको अज्ञान, शाश्वत नियमहरुको अज्ञानको कारण नै दुःखको उत्पति भयो । दुःखचक्रको उत्पति भयो । मानिसको जीवन पतनको मार्ग तर्फ अग्रसर भयो । शाश्वत नियमहरुको कारण नै कसरी दुःख उत्पन्न हुन्छ ? मानिसको जीवनमा कसरी जीवन नष्ट हुन्छ । यो श्लोकबाट बुझ्न सकिन्छ
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।
विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।
क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।