गीतामा भगवान कृष्णले अनेकन् मोक्ष साधनाहरु वा विधिहरुको व्याख्या गर्नुभएको छ । यि मोक्ष साधनाहरुलाई मूल रुपमा दुई भागमा बाँड्न सकिन्छः
१) मूल मोक्ष साधना विधिहरु
२) पूरक वा सहयोगी मोक्ष साधना विधिहरु
मूल मोक्ष साधना विधिहरु ति विधिहरु हुन्, जुन साधना विधिहरुले साधकको मन वा चित्तमा समभावका विजहरु छर्दछन् । समभाव वा समत्व नै ईश्वर हो (२–४८) । योग स्थिति हो । ईश्वर तत्व समभावमा स्थित छ (९–२९, १३–२७) । यि साधना विधिहरुले साधकको मन वा चित्तमा योग स्थिति सृजना गर्दछन् । साधकलाई स्वयंमा छिपेको परमात्मा तत्वसँग एकाकार गराउँदछन् । मनको समआयामलाई विस्तारित गर्दछन् । ईश्वरीय शाश्वत नियमहरु (मूलतः विज उच्छेदको नियम) लाई क्रियाशील गराई जन्मजन्मान्तर देखि संग्रहित त्रिगुणी संस्कारहरुलाई नष्ट गर्दछन् । स्मरण रहोस् – शुद्ध परमात्मा तत्वसँग मन एकाकार भएको क्षणमा मात्र मनका विकारहरु जल्दछन् वा भष्म हुन्छन् ।
मूल मोक्ष साधना विधिहरु कै कारण नै साधकले स्वयंमा स्थित परमात्मा तत्वलाई स्पर्श गर्न सक्दछ । परमतत्वका मौलिक गुणहरु (परम शान्ति, परम आनन्द आदि) स्वयंको मनमा प्रष्फुटन भइरहेको स्पष्ट अनुभूति प्राप्त गर्दछ । विषय राग द्वेष अनुभूतिहरु प्रति मन समभावी बन्दै गएको अनुभूति प्राप्त गर्दछ । अन्ततः दीर्घसाधना प्रक्रियाद्वारा मोक्ष प्राप्त गर्न सक्दछ ।
गीतामा योग शव्द जोडिएका – सांख्ययोग, कर्मयोग, भक्तियोग, ध्यानयोग र समत्वबुद्धि योगका अनेकन् मूल मोक्ष साधना विधिहरुको व्याख्या गरिएको छ । गीताको मूल मोक्ष साधना विधि ‘कर्मयोग’ नै हो ।
पूरक वा सहयोगी मोक्ष साधना विधिहरु
मोक्ष वा तत्वसँग एकाकार स्थिति सहज प्राप्त स्थिति होइन । यो अत्यन्त दूरुह स्थिति हो । भगवान स्वयंले हजारौँ मानिसमा कोहि एक मेरो प्राप्तिको लागि प्रयत्न गर्दछ । अनि प्रयत्न गर्ने योगीहरुमा पनि कोहि एक मात्र मलाई प्राप्त गर्दछ (७–३) भन्नुभएकाले मोक्ष स्थिति प्राप्ति कति दूरुह छ, स्पष्ट हुन्छ ।
प्रश्न उठ्दछ कि आखिर किन मोक्ष प्राप्ति यति कठीन छ ? मोक्ष अप्राप्तिका कैयन कारणहरु छन्, यि कारणहरु मध्ये प्रमूख कारण हो – साधकमा ‘पात्रता’को अभाव ।
पूरक वा सहयोगी मोक्ष साधना विधिहरु ति साधना विधिहरु हुन्, जुन विधिहरुले साधकमा ‘पात्रता’ को विकास गर्दछन् । साधकमा मोक्ष साधनाको लागि पृष्ठभूमी सृजना गर्दछन् । साधकको मन वा चित्तमा अध्यात्मका विजहरु छर्दछन् । सत्गुणका विजहरु छर्दछन् । साधकलाई धर्म, ईश्वर, अध्यात्म, मोक्ष तर्फ आकर्षित गर्दछन् । वाह्य जगतबाट अनियन्त्रित रुपमा विषयका राग द्वेषका संस्कारहरु प्रवेश हुने प्रक्रियालाई अवरुद्ध गर्दछ । सांसारिक वृत्तिहरुलाई नष्ट गर्दै साधकलाई विषयहरुबाट चुडाउँदछ । अन्ततः मूल मोक्ष साधनाहरुलाई टेवा प्रदान गर्दै मोक्षरुपी परिणाम तर्फ लैजान्छ ।
स्मरण रहोस् – पूरक साधना विधिहरु स्वयंमा योग स्थिति सृजना गर्न असमर्थ छन् । तर पूरक साधना विधिहरुको अभावमा मूल मोक्ष साधनाहरुद्वारा (योग स्थिति) प्राप्त गर्न असम्भव छ । पात्रता नै विकास नभईकन पूर्ण रुपान्तर असम्भव छ । गीताका विभिन्न अध्यायहरु वा विभिन्न श्लोकहरुमा भगवानले अनेकन् पूरक मोक्ष साधना विधिहरुको व्याख्या गर्नुभएको छ । यि विधिहरुलाई निम्न प्रकार वर्गिकरण गर्न सकिन्छ ।
इन्द्रिय संयम वा निग्रहका विधिहरु
पन्च इन्द्रिय र विषयहरुको मिलन नै संस्कार उत्पति र विस्तारका श्रोतहरु हुन् । जब सम्म इन्द्रिय र विषयहरु विचमा ‘अनियन्त्रित’ मिलन भइरहन्छ, त्यो स्थितिसम्म साधकमा संस्कारहरुको उत्पति र विस्तार भइरहन्छ । साधक मूल लक्ष्य मोक्षबाट टाढा पुगिरहन्छ । यसैले यि साधना विधिहरुमा साधक विभिन्न विधिहरु वा उपायहरुद्वारा पञ्च इन्द्रिय र विषयहरु विचको अनियन्त्रित मिलनलाई बाह्य रुपमा नै अवरोध सृजना गर्दछ । इन्द्रियवश (३–७), अनाशक्त इन्द्रिय (३–७), शास्त्र विहिन कर्म (३–८), भोग सामाग्रीहरुको पूर्णरुपमा परित्याग (४–११), इन्द्रिय संयम (४–२८), विषय भोगहरुको त्याग (५–२२), भोजन निग्रह (६–१६), यथा योग आहार विहार (६–१७), दम, शम (१०–५), ब्रम्हचार्य (१७–१४) आदि गीतामा व्याख्या गरिएका इन्द्रिय संयम वा निग्रहका साधना विधिहरु हुन् ।