सकाम कर्मको अर्थ हो – कुनै पनि वाह्य सांसारिक फलको आशाले कर्म गर्नु । सकाम कर्ममा मानिस वाह्य सांसारिक विषयहरु प्राप्तिको लागि कर्म गर्दछ । उ मूलतः सांसारिक वैभव, सम्मान, भोग सामाग्रीहरुको प्राप्तिको लागि नै कर्म गर्दछ । प्रयास गर्दछ । प्रत्येक मानिसले जीवनमा कुनै न कुनै परिणाममा यि बाह्य वस्तुहरु प्राप्त पनि गर्दछ । तर मानव जीवन संरचना यस्तो रहस्यमय छ कि यो जीवन संरचनामा कर्मको परिणाम वाह्य रुपमा मात्र प्राप्त हुँदैन । यो संरचनामा प्रत्येक कर्मको आन्तरिक परिणाम पनि प्राप्त हुन्छ । यो आन्तरिक परिणाम मनमा प्राप्त हुन्छ । जीवनमा प्राप्त हुन्छ । जीवन चेतनामा प्राप्त हुन्छ ।
प्रश्न उठ्दछ कि कसरी जब मानिसमा सकाम कर्म वा विषय प्रति रागपूर्ण विचार उत्पन्न हुन्छ ।
त्यो अवस्थामा मनमा छिपेका शाश्वत ईश्वरीय नियमहरुले मानिसको मनमा विषय प्रति रागपूर्ण संस्कारहरु उत्पन्न गर्न थाल्दछ । विस्तार गर्न थाल्दछ । जब विषयहरु प्रतिका संस्कारहरु मनमा बिस्तारित हुन थाल्दछन्, शक्तिशाली हुन थाल्दछ, त्यो अवस्थामा त्रिगुणी संस्कारहरु बारम्बार मनको सत्तामा प्रकट हुन पुग्दछन् । जसको परिणाम स्वरुप मानिस झन् झन् यि कर्महरुमा आकर्षित हुँदा मानिसले मन, शारिरीक, जीवनको क्षेत्रमा अनेकन् भयावह परिणामहरु प्राप्त गर्दछ । उ मानसिक, शारिरीक सहित जीवनका सम्पूर्ण पक्षहरुमा पतन प्राप्त गर्दछ । यो तथ्य भगवानको बचनहरुबाट स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।
विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।
क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।
सकाम कर्मको कारण जब मानिसमा त्रिगुणी संस्कारहरु (मूलतः तमोगुणी, रजोगुणी) को विस्तार हुन थाल्दछ । यि संस्कारहरुको ‘मूल प्रभाव’ मानिस चेतना वा जागरुकतामा पनि पर्दछ । जब मानिसमा तमोगुण विस्तार हुन्छ, मानिसमा मूढता, आलस्य, अज्ञान जस्ता वृत्तिहरु पलाउन थाल्दछन् (१४–८)। जब मानिसमा रजोगुणको विस्तार हुन थाल्दछ, मानिसमा लोभ, सकाम कर्म वृत्ति, स्वार्थबुद्धि, विषय लालसा आदि भावहरु उत्पन्न हुन थाल्दछन् । (१४–१२) यि गुणहरुले मानिसका विचार, कर्म र सम्पूर्ण जीवनलाई प्रभाव पार्न थाल्दछ । सकाम कर्मको कारण उत्पन्न गुणहरुले मानिसको जीवनलाई कसरी प्रभाव पार्दछन् को विस्तृत व्याख्या अध्याय……………मा गरिएको छ ।
सारांशमा जीवनमा सकाम कर्मको मूल समस्या जीवनको आन्तरिक क्षेत्रमा मूलतः तमोगुणी र रजोगुणी संस्कारहरुको बृद्धि हुनु नै हो । जीवन र आत्मालाई अधोगतिमा लानु नै हो । स्वयंको शत्रु स्वयं बन्नु हो । भगवान भन्नुहुन्छः
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।६–५।।
मनुष्यले आफैले आफ्नो (आत्मा) उद्धार गर्नुपर्दछ । (र) आफु (आत्मा) लाई अधोगतिमा लैजानु हुँदैन । किनभने यो जिवात्मा स्वयं नै स्वयंको मित्र हो । स्वयं नै स्वयंको शत्रु हो ।
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।।६–६।।
जुन जिवात्माले मन, इन्द्रिय र देहलाई जितेको छ । त्यो जिवात्मा स्वयंको मित्र स्वयं हो । जुन जिवात्माले स्वयंलाई जितेको छैन । त्यो जिवात्मा स्वयं सँग शत्रुको समान शत्रुताको व्यवहार गर्दछ ।