मोक्ष प्राप्तिको नाममा कुनै विशेष वाह्य आध्यात्मिकता (पूजा, पाठ, वस्त्र, आभुषण, गुरु, सम्प्रदाय आदि) ग्रहण नगरिकन जीवनको जुन स्थितिमा जे कर्तव्य कर्म प्राप्त भएको छ । त्यो कर्तव्य कर्म प्रति अत्यन्त जागरुक, न राग, न द्वेष वा समभावी बन्दै स्वयंमा छिपेका परमात्मा तत्वसँग ‘योग’ स्थिति स्थापना गर्दै मोक्ष प्राप्त गर्न गरिने साधना नै कर्मयोग हो । कर्मयोगमा मोक्ष प्राप्त गर्न जीवनमा प्रतिक्षण सम्पादन गरिने साधारण कर्महरुलाई नै साधन बनाइन्छ ।
छिपेका गुणहरुको कारण मानिस जीवनका प्रत्येक क्षणमा कुनै न कुनै कर्म गरिरहने (३–८), अनि कुनै न कुनै बन्धन प्राप्त गरिरहने भएकोले कर्मयोग साधना विधिको असाधारण महत्व छ । साधक मोक्ष साधनाको कुनैपनि साधना मार्ग (सांख्ययोग, भक्तियोग, ध्यानयोग वा समत्वबुद्धियोगका अनेकन् विधिहरु) मा साधनारत किन नहोस् । यदि उ स्वयंद्वारा प्रतिक्षण सम्पादित भइरहेका मन, वचन र शारिरीक कर्महरु चाहे ति आध्यात्मिक साधना कर्महरु नै किन नहुन्, प्रति दोषपूर्ण समभावी भाव छैन भने मोक्ष नै असम्भव छ । किनकि – जुन क्षण साधकमा समभाव नष्ट हुन्छ, त्यो क्षण उ संसारमा नै पुग्दछ । मनमा बन्धन नै प्राप्त गर्दछ । यसैले कर्मयोग असाधारण महत्वको छ ।
कर्मयोग उत्पति कहिले भयो ?
मानिसको जीवनमा यसरी कर्मनिष्ट क्षणहरु नै अनुपस्थित रहेको अनि कर्मलाई यज्ञकर्म (कर्मयोग) को रुपमा सम्पादन नगरेको स्थितिमा मानिसमा राग द्वेषका बन्धनहरु उत्पति भई आसुरी सम्पदाहरुको विकास हुन सक्ने भएकोले सृष्टिको आदिकालमा नै सृष्टिकर्ताले यज्ञ (कर्मयोग) को विद्या प्रजा (मानिस) हरुलाई प्रदान गर्नुभयो । यो नै कर्मयोग उत्पति भएको क्षण थियो । जब भगवानले कर्मयोगको व्याख्या गर्नुभयो, त्यहि क्षणमा कर्मलाई यज्ञ कर्म वा कर्मयोगको रुपमा सम्पादन नगर्दा प्राप्त हुने भयावह परिणामको बारेमा पनि सचेत गराउनुभयो । भगवान भन्नुहुन्छः
सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।।३–१०।।
प्रजापति ब्रम्हाले कल्पको आदिमा यज्ञ सहित प्रजालाई रचेर भने (कि), यस यज्ञद्वारा तिमिहरु वृद्धिलाई प्राप्त गर । यो यज्ञ तिमिहरुलाई ‘इष्टकामधुक’ – इष्ट वा परमात्मा सम्बन्धी कामना प्रदान गर्नेछ ।
देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।३–११।।
अनि तिमिहरु यो यज्ञद्वारा देवता (आध्यात्मिक सम्पदा) हरुको उन्नति गर । ति देवताहरु तिमिहरुको उन्नति गरुन् । यस प्रकार परस्परमा उन्नति गदै तिमिहरु परमश्रेय वा मोक्षलाई प्राप्त हुनेछौ ।
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः ।
भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।।३–१३।।
(निष्काम) यज्ञबाट शेष बचेको अन्न (परिणाम) खाने श्रेष्ठ पुरुष सम्पूर्ण पापहरु (त्रिगुणी विकारहरु) बाट मुक्त हुन्छ । जो मानिसहरु आफ्नो शरीरलाई पोस्न मात्र पकाउँछन् वा कर्म गर्दछन्, ति त पापलाई नै खान्छन् । वा त्रिगुणी विकारहरु नै प्राप्त गर्दछन् ।
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।
जो पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।