जब कर्मयोग साधना भनिन्छ, यो साधनाको अर्थ हुन्छ, जीवनका प्रत्येक क्षणमा घटित हुने कर्महरुलाई नै मोक्ष साधनाको साधन बनाएर मोक्ष वा योग स्थिति प्राप्त गर्नु । कर्ममा योग स्थिति मूल रुपमा कर्मको फल प्रतिको आशाले नै स्थापित हुन दिदैन । जब फलको आशाले कर्म गरिन्छ, त्यो अवस्थामा फल प्राप्ति हुँदा मानिस खुसी (वा विषय प्रति रागपूर्ण बन्धन) र फल प्राप्ति नहुँदा मानिस दुःखी (वा विषय प्रति द्वेषपूर्ण बन्धन) उत्पन्न गर्दछ । यस्तो स्थितिमा योग स्थिति प्राप्त हुन सक्दैन, यसैले कर्मफलका सम्पूर्ण इच्छाहरुको त्याग लाई नै कर्मयोग साधनाको ‘मूल साधना’ विधि मानिएको छ । तर कर्मफल त्यागले मात्र कर्मयोग साधना सिद्ध हुन सक्दैन । यसैले गीताका विभिन्न अध्यायहरुको विभिन्न श्लोकहरुमा भगवानले कर्मयोग साधना विधि र यो साधना विधिसँग जोडिएका अनेकन् पक्षहरु वा आवश्यकताहरुको व्याख्या गर्नुभएको छ । कर्मयोग साधनासँग सम्बन्धित यि अनेकन् पक्षहरुको व्याख्या कर्मयोग साधनाका आवश्यकताहरु के के हुन् भन्ने प्रश्नहरुको उत्तरमा पनि दिइएको छ । कर्मयोग साधना विधिको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
कर्मण्येवाधिकारस्ते मा फलेषु
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२–४८।।
हे धनन्जय ! तिमी (फल) आशक्तिलाई त्यागेर तथा सिद्धि असिद्धिमा ‘सम’ बुुद्धि योगमा स्थित रहेर कर्म गर । समत्व (समस्थिति) लाई नै योग भनिन्छ ।
यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर ।।३–९।।
यज्ञको निमित्त गरिने कर्मको अतिरिक्त अन्य (सकाम) कर्ममा समाहित मनुष्य समुदाय कर्मद्वारा बाँधिन्छ । हे कुन्तीनन्दन ! तिमी आशक्तिरहित भएर यज्ञ गर ।
मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा ।
निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ।।३–३०।।
(यसैले हे अर्जुन !) तिमी अध्यात्मचेतसा वा अन्तरयामी परमात्मामा चित्त निरोध गरेर सम्पूर्ण कर्महरु म मा समर्पण गरेर, आशारहित, ममतारहित र संतापरहित भएर युद्ध गर ।
तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
छित्त्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।।४–४२।।
यसैले हे भरतवंशी ! हृदयमा स्थित यो अज्ञानबाट उत्थान भएको यो संशयलाई ज्ञानरुप तलवारद्वारा काटेर (योग) समतामा स्थित होऊ र युद्धको लागि खडा होऊ ।
चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः ।
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ।।१८–५७।।
यसैले हे अर्जुन ! तिमी सम्पूर्ण कर्महरु मनले मलाई अर्पण गरेर ‘बुद्धियोगम्’ वा समबुद्धिरुप निष्काम कर्मयोगको आश्रय लिएर निरन्तर ममा चित्त लगाउने होउ । बन ।