प्रायशः सांख्ययोगका भाष्यहरु वा प्रवचनहरुमा सांख्ययोग निराकार मूल परमात्मा तत्वको चिन्तन हो भनेर व्याख्या गर्नुभएको पाइन्छ । तर गीता अध्याय २ श्लोक ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३७ जहाँ भगवानले सांख्ययोगको ‘मूल व्याख्या’ गर्नुभएको छ, त्यहाँ ‘मूल तत्व परमात्मा तत्व चिन्तन’ भन्ने वचन देखिदैन ।
त्यस्तै भगवानले गीतामा भगवानले यो सत्य स्पष्ट पार्नुभएको छ कि त्रिगुणी मायाले परमात्मा तत्व माथि मोहिनी पर्दा सृजना गरिदिएको छ । (३–२९, ३–३७, ३–३८, ३–३९, ३–४०, ३–४२, १५–९, १०, ११) जब सम्म यो त्रिगुणी मायाको पर्दालाई भेदन गर्न साधक सक्दैन, त्यो स्थितिसम्म मूल तत्वमा प्रवेश नै गर्न असम्भव छ । यहि त्रिगुणी माया (जुन मूलतः मनुष्य जीवन सत्तामा विषयको राग द्वेषको रुपमा उत्पन्न हुन्छ) लाई भेदन नगरीकन मूलतत्व परमात्मामा पुग्न सकिन्न भने ‘मूल तत्व चिन्तन’ कसरी सांख्ययोगको मूल विधि बन्दछ ? यहि त्रिगुणी मायाका पर्दा (जुन मूलतः विषयबाट उत्पन्न राग द्वेषको भावहरु नै हुन्) लाई भेदन नगरी मूल तत्व सम्म पुग्न सकिन्न भने साधनाको प्रारम्भ नै राग द्वेषको पर्दालाई विलय वा संवेदनाको उदय व्ययबाट किन गरिनु पर्दैन ? यो सांख्ययोगको परिभाषा अपभ्रमशित छ । परमात्मा चिन्तन, शरण, भजन, एकीभाव त्यो अवस्थामा मात्र सम्भव छ, जब साधक त्रिगुणीहरुले सृजना गर्ने अज्ञान वा मोह को पर्दालाई भेदन गर्न सक्दछ । यसैले सांख्ययोगमा स्पष्ट रुपमा संवेदनाहरु माथि समभावी नै मूल साधना विधि हो । स्वयं योगेश्वर भन्नुहुन्छः
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।।२–१४।।
हे कुन्तिपुत्र ! इन्द्रीय र विषयहरुको संयोग वा मिलनबाट (मनमा) उत्पन्न हुने शीत–उष्ण र सुखद–दुखद (अनुभूतिहरु वा संवेदनाहरु) परिवर्तनशील र अनित्य छन् । हे भारत ! तिमी ति (संवेदनाहरु) लाई सहन गर (वा सेवन नगर) ।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।२–१५।।
किनभने हे पुरुषश्रेष्ठ ! समदुःखसुखम् वा (मनमा विषय इन्द्रीय मिलनबाट उत्पन्न) सुखद दुखद संवेदनाहरुमा “सम” रहने धीरपुरुषलाई यी संवेदनाहरुले व्यथित (दुःखी – सुखी) बनाउन सक्दैन । उ अमृत (मोक्ष, अमर) प्राप्त गर्न समर्थ हुन्छ । वा उ मोक्ष प्राप्त गर्दछ ।