मोक्ष त्यो शिखर स्थिति हो, जुन जीवन स्थितिमा मानिसका सम्पूर्ण प्रकारका त्रिगुणी संस्कारहरु साधनाद्वारा नष्ट हुन पुगी मानिसले शुद्ध आत्मा वा चित्त स्थिति प्राप्त गर्दछ । मोक्ष जीवन स्थितिमा त्रिगुणी संस्कारहरु सम्पूर्ण रुपमा अनुपस्थित हुने भएकाले मोक्ष पुरुष संसारका विषयहरु प्रति उदासिन रहन्छ । उ जगतका विषयहरु प्रति आकर्षित हुँदैन । जगतका अनेकन् आकर्षण विषयहरुका मायाहरुले पनि उसलाई स्पर्श गर्न सक्दैनन् । यो स्थितिमा उ इन्द्रिय र विषयहरुको संयोजनबाट उत्पन्न हुने सम्पूर्ण प्रकारका दुःख, व्यथा, आँसू, द्वन्द, अशान्ति, विषय भोगको लालसा, भौतिक वस्तुसँगको इच्छा आदिबाट मुक्त हुन पुग्दछ । दुःख नै सम्पूर्ण रुपमा अनुपस्थित यो एक नूतन, नवीन जीवन स्थिति बन्दछ । यो जीवन स्थितिमा परमात्मा तत्वका मौलिक गुणहरु पूर्णरुपमा प्रकट हुने हुनाले मोक्ष पुरुषले परम शान्त, परम आनन्द, आत्मतृप्त, असंग (परम स्वतन्त्र), अक्षय सुख प्राप्त गर्दछ । पूर्वजन्म ज्ञान, सर्वज्ञता, अनेकन् प्रकारका सिद्धिहरु पनि परमात्मा तत्वका गुणहरु भएकाले मोक्ष पुरुषमा यि गुणहरु पनि उत्पन्न हुन्छन् । भगवान बुद्धको मोक्ष पश्चातको जीवनलाई अवलोकन गर्दा पनि यो तथ्यको पुष्टि हुन्छ । मोक्ष पश्चात संस्कारहरु अनुपस्थित भएकाले मानिसको पुनर्जन्म प्रक्रिया समाप्त हुन्छ । मोक्षलाई स्वस्वरुप प्राप्ति, आत्म प्राप्ति (साक्षात्कार, ज्ञान, दर्शन, बोध, अनुभूति), ईश्वर वा परमात्मा (प्राप्ति, साक्षात्कार, ज्ञान, दर्शन, बोध, अनुभूति आदि) नामहरु दिइएका छन् । मोक्षलाई प्रदान गरिएका यि अनेकन नाम वा संज्ञाहरुलाई यसरी बुझ्न सकिन्छः
परमात्माको अंश (आत्मा) र जड पक्षको संयोजनबाट नै मानिसको उत्पत्ति भएको छ । (१४–३, १४–४) तर त्रिगुणी संस्कारको कारण इन्द्रिय र विषयहरु विच संयोजन हुन पुगी चित्त ‘सतत्’ रुपमा यि त्रिगुणी भावहरुले भरिदा नै मानिसहरुले स्वयंमा छिपेका आत्माको साक्षात्कार (बोध, दर्शन, प्राप्ति, अनुभूति) गर्न असमर्थ रहन्छ । (७–१३) । जब साधनाद्वारा त्रिगुणी संस्कार नष्ट हुन्छन् । चित्तमा विषय र इन्द्रियको मिलनबाट त्रिगुणी भाव उत्पन्न हुँदैनन् । त्यो अवस्थामा चित्तमा उपस्थित त्रिगुणी भावको ‘पर्दा विलय’ हुन्छ । त्यो स्थिति प्राप्त मोक्ष पुरुषमा ‘म’ भाव पनि विलय भई एक शुद्ध चेतन ‘म’ विहीन बोध स्वरुप प्रकट हुन्छ । यो नै स्वयंको सत्यस्वरुप हो । आत्मा हो । यो स्थितिलाई स्वस्वरुप प्राप्ति,………………………..
जब यो स्वयंको स्वरुप रुपी आत्माको दर्शन वा बोध हुन्छ । त्यो अवस्थामा आत्मा पृथक, परमात्मा पृथक (वा द्वेत भाव) उपस्थित हुँदैन । वा यो स्थितिमा आत्मा परमात्मा विचको भेद उपस्थित नै हुँदैन । आत्मा नै परमात्मा हो । (१३–२, १३–२२) । यो स्थितिलाई ईश्वर प्राप्ति, ईश्वर साक्षात्कार, ईश्वर दर्शन, ईश्वर बोध, ईश्वर अनुभूति पनि भनिन्छ ।
कैयन आध्यात्मिक ग्रन्थहरुमा यो मोक्ष स्थितिलाई सत्य प्राप्ति, परमात्मा तत्वमा विलय, चित्त निरोध, वैश्विक उर्जामा एकाकार, शून्यमा विलय, निर्वाण, मुक्ति आदि नामहरु वा संज्ञाहरु पनि दिइएको छ । जे नाम वा संज्ञा दिइए पनि मोक्ष स्पष्ट रुपमा त्रिगुणी संस्कारहरु सम्पूर्ण रुपमा समाप्त भई आत्मा पूर्णरुपमा शुद्ध भएको एक जीवन स्थिति हो । मोक्ष मृत्यू पश्चात नभई वर्तमान जीवनमा नै प्राप्त हुन सक्ने स्थिति हो । मृत्यू पश्चात पूर्वजन्म समाप्त हुने भएकाले मोक्षलाई मृत्यू माथि विजय वा मृत्यूबाट पनि मोक्षको रुपमा बुझिन्छ ।
कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? मोक्ष पुरुषका लक्षणहरु के के हुन् ?
गीताका विभिन्न अध्यायका विभिन्न श्लोकहरुमा भगवानले मोक्ष प्राप्त पुरुषलाई स्थित प्रज्ञ, स्थिर बुद्धि, योगारुढ, योगयुक्त, भगवत प्राप्त, शान्तब्रम्हा प्राप्ति आदि संज्ञाहरु दिदै जब कुनै साधकले मोक्ष प्राप्त गर्दछ, त्यो अवस्थामा त्यो मानिसको आन्तरिक जीवन स्थिति कस्तो हुन्छ ? वाह्य जीवन स्थिति कस्तो हुन्छ ? वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग कस्तो प्रतिक्रिया गर्दछ ? भौतिक पदार्थहरु प्रति कस्तो दृष्टिकोण रहन्छ ? मृत्यू पश्चात मोक्ष पुरुषको जीवन गति कस्तो हुन्छ आदि व्याख्या गर्नु भएको छ । मोक्ष प्राप्त स्थितिमा साधकको जीवन स्थिति कस्तो हुन्छ भन्ने तथ्य सहज रुपमा बुझ्न सकियोस् भन्ने ध्येयले विभिन्न समूहमा यस प्रकार विभाजन गर्न सकिन्छ ।