देवता सतगुण प्रधान पवित्र आत्माहरु हुन् । जो मृत्यू पश्चात स्वर्गलोक, देवलोक आदि पुण्य लोकहरु प्राप्त गर्दछन् । ति लोकहरुमा दीर्घकालसम्म निवास गर्दछन् । पुनः मनुष्य जीवन नै प्राप्त गर्दछन् ।
त्रिगुण र परमात्माको अंश आत्माबाट उत्पन्न मानिस वा जीवात्मा अविनाशी आत्मा हो । यो जीवात्मा प्रकट – अप्रकट – प्रकट चक्रमा घुमिरहन्छ (२–२८) । यो चक्रमा जब जिवात्मा वा मानिसले पृथ्वीमा जन्म प्राप्त गर्दछ, त्यो अवस्थामा मानिसलाई चार गुणहरु (तमगुण, रजगुण, सतगुण र शुद्ध परम तत्व गुण) को विस्तार गर्ने असाधारण अवसर प्राप्त हुन्छ । यो गुणहरुको विस्तारले वर्तमान जीवन र भविष्य जीवनहरुलाई असाधारण रुपमा असर पार्दछ । इन्द्रिय, मन र बुद्धि भन्दा अझ माथि जागरुक स्थितिमा अवस्थित रहेकाले मानिस पृथ्वीमा जिवीत रहेको अवस्थामा कुनै पनि गुणको विस्तार गर्न सक्षम छ । स्वतन्त्र छ । यस्तो जागरुक जीवन स्थिति प्राप्त भएको अमूल्य समयमा जब कुनै मानिस धर्म, ईश्वर, मोक्ष आदि तर्फ प्रवेश गर्दछ । जब उ मूल साधना र पुरक साधनाहरुद्वारा जब जीवनमा मनको सम आयाम र दैविक सम्पदाहरुको विस्तार गर्दछ । सघन सद्गुणी बन्दछ । यस्तो अवस्थामा यदि मोक्ष प्राप्त हुनु अगावै मानिसले मृत्यू प्राप्त गर्यो भने उ स्वर्गलोक, देवलोक आदि प्राप्त गर्दछ । यि उच्च पूण्य लोकमा निवास गर्ने देहविहीन सद्गुणी पवित्र आत्माहरुलाई नै देवता भनिन्छ । शास्त्रहरुमा वर्णित देवताहरु पवित्र आत्माहरु हुन् । भगवान भन्नुहुन्छः
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।
(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ।।१४–१४।।
यदि मनुष्यलाई सत्वगुुणको बृद्धिकाल (अवस्था) मा मृत्यूू प्राप्त भयो भने उत्तम कर्म गर्नेहरुले प्राप्त गर्ने निर्मल दिव्य (स्वगादी) लोक प्राप्त हुुन्छ ।
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।।१४–१८।।
सत्वगुणमा स्थित पुरुष उध्र्वम् वा उच्च निर्मल लोकमा जान्छ । रजगुणमा स्थित पुुरुष मध्य वा मनुष्य लोकमा नै जन्म लिन्छ । तमगुणमा स्थित तामस् पुरुष अध वा अधोगती रुप पशु, पंक्षी, कीट आदि नीच योनीहरुलाई प्राप्त गर्दछ ।
पूजा के हो ?
मोक्ष आन्तरिक रुपान्तरको साधना हो । यो साधनाको मूल ध्येय त्रिगुणी संस्कारहरुको सम्पूर्ण रुपमा विनाश गर्नु नै हो । जुन क्षणसम्म मानिसले मनमा संग्रहित त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा विनाश गर्न सक्दैन, त्यो अवस्थासम्म स्वयंको ‘सत्य स्वरुप’ को दर्शन वा मोक्ष प्राप्त गर्न असमर्थ रहन्छ । यो ‘सत्य’ सँग परिचित भगवानले गीतामा जब पूजा, यज्ञ आदि शव्द प्रयोग गर्नुहुन्छ, त्यसको अर्थ हुन्छ आन्तरिक प्रदेशमा गरिने साधना ।
वर्तमान समयमा पनि अध्यात्मको नाममा वाह्य चन्दन अक्षतायुक्त पूजाहरु, जौ, तिल, घिउ स्वाहा रुपी वाह्य यज्ञहरु प्रचलनमा छन् । स्वयं कृष्ण कै पूजा प्रचलनमा छ । तर गीतामा भगवानले कतै यि वाह्य पूजाहरुको व्याख्या गर्नुभएको पाइँदैन । समर्थन गर्नु भएको पाइँदैन । कर्मयोग वा प्रत्येक कर्मलाई नै पूजा, यज्ञ, साधना बनाएर सम्पादन गर्दै मोक्ष प्राप्तिको विधिको व्याख्या गरिरहनु भएका भगवानले जब पूजा भन्नुहुन्छ, त्यसको अर्थ हुन्छ, स्वयंको हृदयमा अवस्थित परम तत्वसँग एकाकार हुने कुनै पनि प्रयास ।