जब भगवान्ले देह, इन्द्रियहरू र मनलाई कठोर तपस्याबाट नियन्त्रणमा लिई मोक्ष प्राप्त गर्ने साधना प्रारम्भ गर्नुभयो भगवान्ले यस साधनाको प्रारम्भ अल्प आहारबाट गर्नुभएको थियो । भगवान्को विचारमा देह, इन्द्रियहरू र मनको चञ्चलताको मूल कारण शारीरिक र मानसिक आहार नै थिए । यही कारण शरीर र इन्द्रिलाई नियन्त्रणमा लिन भगवान्ले शनैःशनैः अन्न ग्रहण कम गर्दै जानुभयो । अन्ततः भगवान् यति अल्पहारी हुनुभयो कि उहाँ दिनमा एक दुई गास मात्र खाने गर्नुहुन्थ्यो । यसरी देह र इन्द्रियलाई अल्पाहारद्वारा नियन्त्रणमा लिन प्रयास गरेपश्चात् मनलाई नियन्त्रणमा लिन उहाँले ध्यान साधनाको साहारा लिनुभयो, जुन ध्यान साधना विद्या उहाँले गुरु आलार कालम र उद्धक रामपुत्तबाट प्राप्त गर्नुभएको थियो । ती दिनहरुमा भगवान् दिनमा एक पल्ट अलिकति आहार ग्रहण गर्ने बित्तिकै एक गहन ध्यानमा डुबिहाल्नुहुन्थ्यो ।
यो कठोर देहपीडक अल्पाहार तपस्याले बिस्तारै भगवान्मा शारीरिक परिवर्तनका लक्षण देखा पर्न थाले । भगवान् दुब्लाउँदै र निर्बल हुँदै जानुभयो । भगवान्को स्वर्ण वर्ण सुन्दर शरीर (स्मरणरहोस्– भगवान् बत्तीस लक्षणयुक्त अत्यन्त सुन्दर राजकुमार हुनुहुन्थ्यो) को त्वचा कालो हुँदै गयो । त्वचाको शुद्ध, स्वच्छ, निर्मल छवि नष्ट हुँदै गयो । शरीर क्षीण हँुदै गएर हाडका ढाँचा मात्र शेष रह्यो । ती दिनमा भगवान्को देह यति क्षय भएर गयो कि पेटमा हात लगाउँदा पिठ्यूको हड्डीलाई स्पर्श गथ्र्याे । आँखागहिराइमा धसिएका थिए । अनुहारका छाला पूर्णरूपमा खुम्चिएको थियो । उहाँ हिड्न पनि असमर्थ हुनुहुन्थ्यो । यस्तो कठिन तपस्याका कारण शरीर बलहीन, भोक, तिर्खाले हैरान, मन थकावटले एकाग्रहीन र अशान्त भयो । अन्ततः भगवान् मृत्युको समीपमा पुग्नुभयो तर यस्तो कठिन साधनाबाट पनि भगवान्ले निर्वाण प्राप्त गर्न सक्नुभएन ।
विगतका कैँयौँ वर्षदेखि भगवान्ले अनेक प्रकारका निर्वाण साधनाविधिलाई आफैँमा प्रयोग गर्नुभएको थियो । ती साधनाका परिणामलाई निर्वाणको कसीमा मूल्याङ्कन गर्नुहुन्थ्यो । जब भगवान्लाई स्वअनुभूति वा मूल्याङ्कनमा कुनै साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ छ भन्ने निश्चय हुन्थ्यो तत्कालै त्यस साधनाविधिलाई त्यागिदिनुहुन्थ्यो ।
साधनाविधिलाई निर्वाणको कसीमा मूल्याङ्कन गर्ने परम्पराअनुरूप भगवान्ले यस कठिन कायपीडक साधनालाई पनि मूल्याङ्कन गर्नुभयो । यस क्रममा भगवान्ले यस्ता कठोर देह तपस्याका कारण निर्वाण प्राप्ति त कता हो कता उल्टै उहाँको शरीर पूर्णतः नष्ट, बलहीन, भोक प्यासले व्याकुल, थकित र मृत्युतर्फ बढिहेको छ भन्ने यथार्थ बोध गर्नुभयो ।
कायको अवस्थाबारे निरीक्षण पश्चात् जब भगवान्ले स्वयंको चित्त क्षेत्रको मूल्याङ्कन गर्नुभयो तर यस्तो कठोर देहतपस्यापश्चात् पनि उहाँका चित्तका विकार जस्ताको तस्तै उपस्थित रहेको बोध प्राप्त गर्नुभयो । के तथ्य स्पष्ट थियो भने यस देह, इन्द्रिय र मनलाई नियन्त्रण गर्न गरिएको कठोर साधनाविधि पनि अन्य निर्वाण साधनाझैँ अपूर्ण, असत, भ्रामक, मिथ्या, मोक्ष प्रदान गर्न असमर्थ र विपरीत परिणामदायी थियो । यस्तो कठिन देहपीडक तपस्यालाई निरन्तरता दिनुको अर्थ हुन्थ्यो मृत्युलाई निम्त्याउनु । अन्ततः भगवान्ले यस किसिमको देहपीडक साधनालाई त्याग गर्ने निर्णय गर्नुभयो । स्मरणरहोस्– निर्वाण पश्चात् भगवान्ले प्रदान गर्नुभएको प्रथम धर्मदेशना वा धर्मचक्र प्रवर्तन सुत्तमा यस दुष्कर देहपीडक साधनालाई निर्वाण साधनाको एक अतिको रूपमा व्याख्या गर्दै निर्वाणाभिलाषी साधकले यस साधनालाई ग्रहण गर्न नहुने बताउनुभएको छ । देह वा जीवन रहे मात्र साधनालाई निरन्तरता दिएर निर्वाण प्राप्त गर्न सम्भव हुने हो । अन्ततः भगवान्ले भोजन ग्रहण गर्ने निर्णय लिनुभयो र भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभयो ।
जतिबेला भगवान्ले कठिन देहपीडक तपस्या गरिरहनुभएको थियो त्यतिबेला भगवान्लाई निर्वाण प्राप्त भएपश्चात् आफूलाई पनि सत्य निर्वाण साधनाविधि प्राप्त हुन्छ भन्ने अभिलाषाले पाँच भिक्षुहरू पनि भगवान्को समीपमा तपस्या गरिरहेका थिए । जब ती पाँच भीक्षुहरूले भगवान्ले भोजन ग्रहण गर्नुभएको देखे उनीहरूले भगवान् भोगको संसारमा फर्किनुभएको, निर्वाण साधना मार्गबाट भ्रष्ट हुनुभएको, निर्वाण प्राप्तिको सम्भावनाबाट टाढा पुग्नुभएको निस्कर्ष निकाल्दै उहाँलाई त्याग गरी स्वसाधनाका लागि काशीतर्फ गए । भगवान्ले निर्वाण प्राप्तिपश्चात् प्रथम धर्म देशना, जुन धर्मचक्र प्रवर्तनको नामले प्रसिद्ध छ यिनै पाँच वा पञ्चवर्गीय भिक्षुहरूलाई प्रदान गर्नुभएको थियो ।
भोजन गर्नुभए पश्चात् भगवान्को शरीर पहिलेकै अवस्थामा फर्किन थाल्यो । भगवान्को शरीरमा स्वस्थताका लक्षण शनैःशनैः प्रकट हुन थाले । भगवान् क्रमशः स्वस्थ हुँदै गइरहनुभएको थियो । ती अन्योलका दिनमा भिक्षाटन गरेर फर्किए पश्चात् भगवान् बोधिवृक्षको शीतल छायाँमा शान्त भएर बस्ने गर्नुहुन्थ्यो । लामो असफल निर्वाण साधना यात्रा, जुन यात्रामा उहाँको झण्डै छ वर्षको समय व्यतीत भइसकेको थियो, जुन यात्रामा उहाँले झण्डै मृत्युलाई प्राप्त गर्नुभएको थियो भगवान् तीनै निर्वाण साधनाका यात्राहरूमाथि चिन्तन गरिरहनुहुन्थ्यो । उहाँको मनमा बारम्बार प्रश्न आखिर किन यी अनेक साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ भए ? भन्ने प्रश्न उठिरहन्थ्यो । ती दिनमा भगवान्को जीवन स्थिर झैँ थियो । न त उहाँसँग अगाडि बढ्ने साधना मार्ग थियो न त पुनः भोगको सारहीन संसारमा फर्कन उहाँको मनले स्वीकार गरिरहेको थियो । जगतप्रतिको वैराग्य उहाँका मनमा जस्ताकोतस्तै थियो । निर्वाण खोजको यति लामो असफलता पश्चात् पनि उहाँको मनको एक कुनामा आशाको मसिनो यस्तो आवाज उठिरहन्थ्यो कि निर्वाण सत्य छ । निर्वाणसम्म पुग्ने सत्य मार्ग पनि उपस्थित छ । फेरि सत्य निर्वाण मार्ग अदृष्य नै थियो । स्वयंको जीवनभित्र छिपेको सत तत्वसम्म पुग्ने मार्ग पहिल्याउन अत्यन्त दुरुह थियो ।