त्यसपछिका कैँयौँ हप्ता भिक्षाटनबाट फर्किएर भोजन गरेपश्चात् भगवान् त्यही बोधिवृक्षको छायाँमुनि काय र चित्तमा उत्पन्न भइरहेका यिनै संवेदनालाई समभावमा अवलोकन गर्ने ध्यानमा डुब्नुहुन्थ्यो । यस नवीन ध्यानको सूक्ष्म अवलोकन र अनुसन्धान गरिरहनुहुन्थ्यो । देह र मनको क्षेत्रमा उत्पन्न संवेदनाका उदय र व्ययलाई स्मृतिवान् (जागरुक) र प्रज्ञावान् भएर अवलोकन गरिरहनुहुन्थ्यो ।
कायको बाहिर, भित्र, सर्वत्र संवेदनाका अनुभूति
ती दिनहरूमा भगवान् शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म स्वयंका कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम् एकाइमा टुक्र्याउँदै यस क्रममा उत्पन्न भएका सुखद र दुःखद संवेदनालाई यथाभूतरूपमा अवलोकन गरिरहनुहुन्थ्यो । जब भगवान्ले शिरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म कायलाई टुक्र्याउन प्रारम्भ गर्नुभयो भगवान्ले सर्वप्रथम कायको बाहिरी क्षेत्रमा अनेक प्रकारका संवेदनाहरू उत्पत्ति र व्यय भएको बोध प्राप्त गर्नुभयो । जब भगवान्ले कायको बाह्य क्षेत्रमा उत्पन्न संवेदनाप्रतिको समभावी साधनालाई निरन्तरता दिइरहनुभयो भगवान्ले कायका भित्री क्षेत्रमा पनि अनेक प्रकारका संवेदनाहरू उत्पत्ति र व्यय भइरहेको बोेध प्राप्त गर्नुभयो । जब भगवान्ले कायका भित्री क्षेत्रमा उत्पन्न–व्यय, उत्पन्न–व्यय भइरहेका यी संवेदनालाई यथाभूतरूपमा अवलोकन गरिरहनुभयो तत्पश्चात् कायका भित्री र बाहिरी सम्पूर्ण क्षेत्रमा संवेदनाहरूका उदय र व्ययलाई बोध गर्नुभयो ।
संवेदनाका सतत समुदय र व्ययको अनुभूति
संवेदनाहरूलाई यसरी जागरुक र द्रष्टाभावले अवलोकन गर्ने क्रममा भगवान्ले साधनाका प्रारम्भिक दिनमा संवेदनाहरूका उदयप्रक्रिया र व्ययप्रक्रिया पृथकपृथक रहेको अर्थात् संवेदना उदय र व्ययका बीचमा समयको अन्तराल उपस्थित रहेको बोध गर्नुभयो । जब भगवान्ले संवेदनाका यस अनित्य गुण, धर्म र स्वभावलाई तटस्थभाव (भोक्ताभाव होइन) मा अवलोकन गरिरहनुभयो उहाँले संवेदनाहरूका उदय र व्यय बीचको समय अन्तराल नष्ट भई संवेदनाहरूकासतत समुदय र व्ययको अनुभूति प्राप्त गर्नुभयो । भगवान्ले यस संवेदनाहरूका उदय र व्यय प्रक्रियालाई सतत धाराझैँ प्रवाहित भइरहेको बोध प्राप्त गर्नुभयो र यस समभावी साधनालाई निरन्तरता दिइरहनुभयो ।
भङ्ग स्थितिको प्राप्ति
जब भगवान्ले यसरी सर्वत्र संवेदनाहरूका सतत उदय र व्यय भइरहेको अनुभूति प्राप्त भए पश्चात् पनि साधनालाई निरन्तरता दिइरहनुभयोत्यतिबेला भगवान्ले सम्पूर्ण काय र चित्तको क्षेत्र संवेदनाहरूले भरिएको अनुभूति प्राप्त गर्नुभयो । काय र चित्त क्षेत्रको सम्पूर्ण सघनता नष्ट भई एक श्वासमै शिरदेखि पैतालासम्म संवेदना उत्पन्न भएको, काय र चित्तको क्षेत्र मात्र परमाणुको पुञ्जझँै उपस्थित रहेको जस्ता प्रामाणिक अनुभूति प्राप्त गर्नुभयो । भगवान्ले यस स्थितिलाई ‘भङ्ग’
भनी नामकरण गर्नुभयो ।
भङ्गको यस स्थितिमा भगवान्ले अष्टकलाप (चार महाभूत र तीनको गुणका कारण कायमा उत्पन्न हुने अनेक अनुभूतिपूर्ण तरङ्गहरू), प्रिति प्रमोद (चित्तका विकारहरू नष्ट हुँदा मनमा उठ्ने आनन्द पूर्ण तरङ्गहरू) आदिलाई पनि स्पष्ट अनुभूति प्राप्त गर्नुभयो । यतिबेला भङ्गकोअवस्थामा प्राप्त हुने साधनाका सुखद र आनन्दमय अनुभूतिहरू पनि क्षणभङ्गुर अनुभूतिहरू हुन् भन्ने स्पष्ट बोध पनि उहाँलाई प्राप्त भयो ।
प्रश्रब्धिस्थितिको प्राप्ति
निर्वाण अनुभूति अविनाशी हुन्छ भन्ने सैद्धान्तिक ज्ञान भगवान्लाई स्पष्ट थियो । गुरु कालम र उद्धक रामपुत्तको गहन ध्यान साधनाबाट प्राप्त समाधि अनुभूति अविनाशी नभएकै कारण अर्थात् क्षणभङ्गुर भएकै कारण भगवान्ले ती साधनालाई निर्वाण प्रदान गर्न असमर्थ साधना भन्दै त्यागिदिनुभएको थियो ।
यही कारण भगवान्ले ‘भङ्ग’ अवस्था प्राप्त भएपश्चात् पनि संवेदनामाथिको समभावपूर्ण साधनालाई निरन्तरता दिइरहनुभयो । भङ्ग अवस्थामा उत्पन्न भएका अनेक सुखद र आनन्दमय संवेदनाको गुण, धर्म रस्वभावलाई साक्षीभावले अवलोकन गरिरहनुभयो । यस क्रममा भगवान्ले साधनाका प्रारम्भिक दिनहरूमा अनुभव हुने देहको चञ्चलता, असहजपना, घनत्वपना जस्ता भाव सम्पूर्णरूपमा नाश भई काय पूर्णरूपमा शान्त भएको प्रामाणिक अनुभूति प्राप्त गर्नुभयो । भगवान्लेयस्तो स्थितिलाई ‘प्रश्रब्धि’ भनी नामकरण गर्नुभयो ।
निर्वाणको अविनाशी, शाश्वत, इन्द्रियातीत अनुभूतिका लागि साधनारत भगवान्ले भङ्ग, प्रश्रब्धि आदि अवस्थामा उत्पन्न अत्यन्त सुखद संवेदनाहरूलाई भोग नगरी संवेदनाहरूमाथिको समबुद्धीयुक्त साधनालाई निरन्तरता दिइरहनुभयो । काय र चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूप्रति न राग न द्वेष (मात्र समभाव) को साधना स्थितिलाई निरन्तरता दिइरहनुभयो । प्रत्येक दिन भिक्षाटनबाट फर्केपछि भगवान् यही साधनामा डुबिहाल्नु हुन्थ्यो । यही साधनालाई निरन्तरता दिइरहनुभयो ।
अनित्यबोध स्थितिको प्राप्ति
यसरी दीर्घ समयमा शिरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म काय र चित्तलाई असङ्ख्य पटक सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम रूपमा टुक्र्याउँदा भगवान्लाई यो काय र चित्त पूर्णरूपमा प्रतिक्षण उदय र व्यय, उदय र व्यय हुने प्रकृतिका परमाणुहरूको पुञ्ज रहेछ, यस काय र चित्तको क्षेत्र मात्र तरङ्गैतरङ्गको प्रवाह रहेछ भन्ने प्रामाणिक बोध प्राप्त हुन थाल्यो । यस स्थितिलाई भगवान्ले अनित्य बोधको स्थिति भनी नामकरण गर्नुभयो ।
अनित्य बोध स्थितिको अनुभूति पनि शाश्वत, अविनाशी निर्वाण अनुभूति थिएन । यसैले भगवान्ले संवेदनामाथिको साधनालाई निरन्तरता दिइरहनुभयो । जब भगवान्लाई अनित्य बोध वा काय र चित्तको क्षेत्र मात्र परमाणुहरूको तरङ्गैतरङ्ग रहेछ भन्ने स्पष्ट बोध प्राप्त भयो तत्पश्चात् भगवान्को म भाव पनि शनैःशनैः नष्ट हुन थाल्यो । यसरी स्पष्टरूपमा तरङ्गै तरङ्गको पुञ्जको रूपमा बोध भएको देहलाई भगवान्ले म भन्न सक्नुभएन । अनन्ततः भगवान्को देहबुद्धि वा म शरीर हुँ भन्ने भाव पनि पग्लिन थाल्यो । विपश्यना साधनामा ‘म’ भाव पग्लिँदै गएको अवस्था बोध हुने स्थितिलाई अनात्म बोध भनिन्छ ।
भगवान्को संवेदनामाथि गरिएको समभावी ध्यान झन्झन् गहिरिँदै गइरहेको थियो । स्पष्टरूपमा भगवान् ध्यानका विभिन्न चरणबाट गुज्रिरहनुभएको थियो । उहाँ ध्यानका यी प्रत्येक चरणप्रति स्पष्ट हुनुहुन्थ्यो । ध्यानका यी प्रत्येक चरणमा उत्पन्न भइरहेका अनुभूतिहरू र यी प्रत्येक चरणमा स्वयंलाई प्राप्त भइरहेको आन्तरिक रूपान्तरणप्रति स्पष्ट हुनुहुन्थ्यो । यहीनै दुःखद र सुखद संवेदनाहरूप्रति न राग न द्वेषको मध्यमार्गी ध्यान साधना थियो । यही नै विपश्यनाको जन्म भइरहेको क्षण थियो । भगवान्ले महासतिपद्धान सुत्तमा विपश्यना ध्यान साधनामा साधकले एकपछि अर्को गरी पार गर्नै जाने बाह्र चरणलाई गहन व्याख्या गर्नुभएको छ ।
भगवान् स्वयंको अनुभूतिमा प्रमाणित विपश्यना साधनाका बाह्र चरणका व्याख्या यही पुस्तकको परिशिष्टमा गरिएको छ ।