निर्वाण प्राप्तिपश्चात् भगवानले प्रथम चरणमा पूर्वजन्मको ज्ञान, मध्यम चरणमा दिव्यचक्षु प्राप्ति र अन्तिम चरणमा धम्म वा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पाद नियमको ज्ञान प्राप्त गर्नुभयो । यस धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद नियमको ज्ञानसँगै भगवान्लाई चार आर्य सत्य (दुःख, दुःखको कारण, दुःख निरोध अवस्था र दुःख निरोध गामिनी प्रतिपदा वा दुःख निरोधतर्फको साधना मार्ग, पनि स्पष्ट बोध भयो ।
जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो उहाँले स्वयंको प्रथमजन्ममापत्ता लगाउन असम्भव अनगिन्ती पूर्वजन्महरूलाई पनि उहाँले देख्नुभयो । तत्पश्चात् भगवान्को मुखारविन्दबाट अनायासै केही शब्द प्रकट भए, जुन यस्ता थिए–
अनेक जातिसंसारं सन्ध्याविस्सं अनिब्बिसं ।
गहकारकं गवेसन्ता दुक्खा जाति पुनप्पुनं ।।
गहकारकं ! दिट्ठोसि पुन गेहं न काहसि ।
सब्बा ते फासुका भग्गा गहकूटै विसङ्खितं ।।
विसाङ्खारगतं चितं तण्हानं। खयमज्झगा ।।
अर्थात् यस भव संसारमा अनेकौँ पटक जन्मे र केही प्राप्त नगरिकन, नरोकिएर यस भव संसारमा खोेजीनीति गरी नै रहेँ, दौड लगाई रहेँ । घर निर्माताको खोजी गर्दै अर्थात् यस्तो खोजीमा लागेँ कि प्रत्येक मृत्युमा अर्को जन्मका लागि नयाँ शरीरको निर्माण कसले गर्छ ? यस जन्म र मरणरूपी सृष्टिको रचियता को हो ? तर यस्तो कुनै स्रष्टा व्यक्ति (ईश्वर)को निरर्थक र निष्फल खोजीमा पटकपटक दुःखमय संसारमा जन्म लिई नै रहेँ अर्थात् भव संसारमा भौतारिने काम समाप्त भएन । हे घर निर्माता ! वा पुनर्जन्मदाता ! (अब) तँ देखिई सकिस् । अब तैँले पुनः मेरा लागि घर बनाउन सक्ने छैनस्, किनकि तेरा सबै कडी भत्किसकेका छन् । घरको कुटस्थ स्तम्भ टुटिसकेको छ ।