निर्वाण पश्चात् एक हप्तासम्म भगवान्ले बोधिवृक्षमुनि बसेर निर्वाणको विपुल आनन्द लिइरहनु भयो । निर्वाणको परमआनन्दको अनुभूतिले उहाँको मुखारविन्दबाट ओहो सुख ! ओहो सुख ! का शब्द उच्चारित भइरहेका थिए । जीवनमा जुन आन्तरिक रूपान्तरण भएको थियो त्यो असाधारण, अकल्पनीय, अवर्णनीय थियो । पुनर्जन्म भएझैँ जीवन पूर्णरूपमा रूपान्तरित भएको थियो । परम शान्ति, परम आनन्द र परम सुखका जुन अनुभूति मनमा प्रस्फुटित भइरहेका थिए ती अनुभूति अविनाशी थिए । ती गुरु कालम र उद्धक रामपुत्तको ध्यान साधनाबाट प्राप्त समाधिको अनुभूतिजस्तै क्षणभङ्गुर र विनाशी प्रकृतिका थिएनन् । स्वयंको ‘म’ रूपी अहं पनि पूर्णरूपमा विलय भएको थियो । देहबोध पूर्णरूपमा अनुपस्थित थियो । मात्र ‘म’ अनुपस्थित दर्शन (बोध) शेष थियो ।
आखिर भगवान्ले संवेदनाहरूप्रतिको समभावी साधनाद्वारा कसरी निर्वाण प्राप्त गर्नुभयो भन्ने सत्यसँग परिचित हुन साधकहरूलाई अध्याय आठमा दिइएको विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? भन्ने व्याख्यालाई अध्ययन गर्नुहुन अनुरोध छ ।
निर्वाणको यही प्रथम सप्ताहमा भगवान्ले धम्मको शाश्वत नियम प्रतित्यसमुत्पादलाई पटक पटक अवलोकन गरिरहनुभयो । किनकि यो नियम र प्रकृतिका अन्य शाश्वत नियमलाई नबुझी बन्धन र निर्वाणको रहश्य बुझ््न वा निर्वाण प्राप्त गर्न असम्भव थियो ।
अन्ततः यसरी पटक पटकको अवलोकन पश्चात् निर्वाणको प्रथम सप्ताहमै भगवान्ले दुःख र दुःखको कारणरूपी (प्रतित्यसमुत्पादको अनुलोम सत्य) अनि दुःख निरोध र दुःख निरोधको मार्गरूपी (प्रतित्यसमुत्पादको प्रतिलोम सत्य) प्रति पूर्णरूपमा स्पष्ट हुनुभयो । प्रतित्यसमुत्पाद नियमको अनुलोम र प्रतिलोम सत्यप्रति स्पष्ट भएपछि भगवान्लाई यो स्पष्ट भयो कि कुनै पनि साधकले देह र चित्तमा उत्पन्न हुने संवेदनाहरूप्रति समभावी हुन सक्यो भने प्रकृतिका शाश्वत नियमहरूका कारण निर्वाण प्राप्त गर्नसक्छ ।
यो क्षण भगवान् आफैँले निर्वाण वा बुद्धत्व प्राप्त गरेका क्षण मात्र थिएन अपितु धर्तीमा लुप्त भएको सत्य मोक्ष विद्यालाई सम्यक सम्बुद्धले पुनः गहिराइबाट खोजेर निकाल्नु भएको असाधारण क्षण थियो । धर्तीमा कैँयौँ युगपश्चात् सत्य मोक्ष विधाको पुनर्जन्म भइरहेको क्षण थियो । निर्वाण अभिलाषी असङ्ख्य साधकलाई संसारको एक मात्र सत्य मोक्ष साधनाविधि (विपश्यना) को पुनप्र्राप्ति भएको क्षण थियो । निर्वाण साधनामा सत्य साधना मार्ग पहिल्याउन नसकी समय र जीवन बर्बाद हुनुपर्ने स्थिति अन्त्य भएको क्षण थियो । समग्रमा यो एक युगान्तकारी घटना थियो ।