आजभन्दा झण्डै पच्चीस सय वर्ष अघि जब भगवान् बुद्धले काय र चित्तको क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी साधनाबाट निर्वाण प्राप्त गर्नुभयो, भगवान्ले निर्वाणको अन्तिम चरणमा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पाद शाश्वत नियमलाई स्पष्ट बोध गर्नुभयो ।
प्रकृतिको यस नियमबारे बोध भएपश्चात् भगवान्ले स्पष्ट भाषामा बन्धन र निर्वाणका पछाडि जस्तो बीज रोप्यो सोही बीज अनुरूप परिणाम प्रदान गर्ने प्रतित्यसमुत्पाद नामक प्रकृतिको शाश्वत नियमका कारण नै मानिसमा बन्धन (दुःखचक्र, भवक्र, लोकचक्र) र निर्वाण (धर्मचक्र) उत्पत्ति हुन्छ भन्ने सत्यको व्याख्या गर्नुभयो ।
भगवान्ले यसरी आजभन्दा पच्चीस सय वर्ष अगाडि नै प्रतित्यसमुत्पाद भनेको धम्म वा प्रकृतिको शाश्वत नियम हो, जब यस प्रकृतिको शाश्वत नियमले चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) बीज प्राप्त गर्छ, त्यो स्थितिमा यस नियमले दुःखचक्र, भवचक्र र लोकचक्र उत्पन्न गर्दछ तर जब यही शाश्वत नियमले चित्तको सम वा शुद्ध संस्कार (संवेदना भोग नगर्ने) बीज प्राप्त गर्छ, त्यो स्थितिमा यही नियमले निर्वाण चक्र उत्पन्न गर्दछ भनेर किटानीसाथ वा स्पष्टरूपमा व्याख्या गर्नुभएको थियो । तर भगवान्ले आज भन्दा पच्चीस वर्ष अगाडी गर्नुभएको यो सत्य व्याख्यावर्तमान समयमा मानिसले बझ्न सकिरहेका छैन । वा वर्तमान समयमा पनि मानिसहरुले बन्धन र मोक्षको केन्द्रमा छिपेको प्रकृतिको यस शाश्वत नियमलाई बुझ्न सकिरहेका छैनन् ।
यस जगतका साधारण मानिस जो विपश्यना साधनाप्रति आर्कषित भएका छैनन् ती मानिस धम्म वा प्रकृतिको प्रतित्यसमुत्पादको श्वाशत नियम बुझ््न नसक्नु आफ्नो ठाउँमा छ । जुन साधक गुरुकृपा, परमात्माकृपा, तारक बह्मा आदिबाट मोक्ष प्राप्त हुन्छ भनेर विश्वास गरिरहेका छन् ती साधकले प्रतित्यसमुत्पादको श्वाशत नियमलाई बुझ्न नसक्नु त्यो पनि आफ्नो ठाउँमा छ तर असङ्ख्य विपश्यी साधकहरूले समेत विपश्यना साधनाको केन्द्रमा रहेको प्रकृतिको यस शाश्वत नियम, जुन नियमका कारण नै विपश्यना साधनामा धर्मचक्र वा निर्वाणचक्र उत्पन्न भई साधकले निर्वाण प्राप्त गर्छ, को रहश्यलाई बुझ्न असमर्थ छन् । जून अत्यन्त आश्चर्यपूर्ण वा दूर्भाग्यपूर्ण प्रतित हुन्छ । यथार्थमा विपश्यना साधना भन्नु नै प्रतित्यसमुत्पादको शाश्वत नियममा शुद्ध वा समचित्त (चित्तको संवेदना भोग नगर्ने स्वभाव) को संस्कार बीज छर्नु हो भन्ने तथ्यलाई बुझ्न असमर्थ छन् ।
बुद्ध साहित्यहरू पनि प्रतित्यसमुत्पादप्रति भ्रमित छन्
प्रतित्यसमुत्पाद के हो भन्ने सत्यप्रति साधारण मानिस, अन्य साधना मार्गका साधकहरू, विपश्यना साधनाका साधकहरू मात्र नभई बुद्ध साहित्यमा पनि प्रतित्यसमुत्पाद के हो भन्ने सत्यप्रति अस्पष्ट वा भ्रम उपस्थित देखिन्छ । जब तपाईं बजारमा भगवान् बुद्धका बारेमा लेखिएका पुस्तकहरू अध्ययन गर्नुहुन्छ कैँयौँ पुस्तकमा प्रतित्यसमुत्पादको नियमलाई भगवान् बुद्धको दर्शन, भगवान् बुद्धद्वारा प्रतिपादित सिद्धान्त आदि भनि व्याख्या गरिएको पाइन्छ, जुन नितान्त भ्रामक छ । भगवान् बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ । भगवान् कुनै विद्वान, दार्शनिक, सिद्धान्तकार, चिन्तक हुनुहुन्न । यस जगतमा जति पनि सम्यक सम्बुद्धहरूको जन्म हुन्छ ती सम्पूर्ण सम्यक सम्बुद्धले जीवन र जगतको केन्द्रमा छिपेका सत्य, जुन सत्यलाई साधारण मानिसले पहिल्याउन वा बुझ्न सक्दैनन्, तिनै सत्यलाई पहिल्याएर सर्वसाधारण मानिसका लागि प्रकाश पार्छन् । सम्यक सम्बुद्धहरू कुनै दर्शन, मत, सिद्धान्त, धारणा आदि कुराका प्रतिपादन (विकास) गर्दैनन् । सम्यक सम्बुद्धहरूका यही परम्पराअनुरूप प्रतित्यसमुत्पाद नियमको व्याख्यामा भगवान्ले कुनै दर्शन, सिद्धान्त मत आदिको प्रतिपादन गर्नुभएको छैन । उहाँले त मात्र प्रकृतिमा छिपेका शाश्वत नियमलाई प्रकाशमा ल्याउनुभएको हो ।
स्मरणरहोस् निर्वाणपूर्वको स्थितिसम्म भगवान् स्वयं पनि प्रकृतिको यस शाश्वत नियमसँग अपरिचित हुनुहुन्थ्यो । यदि उहाँ निर्वाणपूर्व यस प्रतित्यसमुत्पाद शाश्वत नियमसँग परिचित हुनुहुन्थ्यो भने निर्वाणका लागि सत्य मार्गको खोज गर्दै झण्डै छ वर्षसम्म अवश्य भौतारिँदै हिँड्नुहुँदैनथ्यो । भगवान्ले जब विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात् मात्र उहाँ प्रकृतिको प्रतित्यसमुत्पाद नामक यस शाश्वत नियमसँग परिचित हुनुभएको थियो । प्रतित्यसमुत्पाद नियमको अनुलोम सत्य र प्रतिलोम सत्यसँग परिचित हुनुभएको थियो ।