संस्कार वा गुण प्रकटीकरणको नियम धम्म वा प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको मूल गुण स्वतः प्रकट हुन्छ वा तपाईंको मूल गुण (स्वभाव, प्रकृति) स्वतः तपाईंको विचार, व्यवहार, कर्म आदिमा प्रकट हुन पुग्छ । जब तपाईंमा सर्वप्रथम संस्कार वा बीज सङ्ग्रह नियमका कारण प्रथम संस्कार बीजको सङ्ग्रह हुन्छ, जब तपाईंको प्रथम संस्कार बीज, बीज विस्तारका नियमका कारण विस्तार हुँदै जान्छ र त्यो संस्कार शक्तिशाली बनी तपाईंको गुण बन्छ । अनि जब प्रथम साधारण संस्कार बीज तपाईंको गुण बन्छ त्यस क्षणमा प्रकृतिको गुण प्रकटीकरण शाश्वत नियमका कारण तपाईंको त्यो गुण स्वतः तपाईंको विचार, कर्म, व्यक्तित्व आदिमा प्रकट हुन थाल्छ । तपाईंले जबरजस्ती रोक्ने प्रयास गर्नुभए पनि धम्मको यस नियमका कारण तपाईंको गुण स्वतः प्रकट भइरहन्छ ।
यथार्थमा तपाईंको जीवनको केन्द्रमा यही संस्कार वा बीज प्रकटीकरणको नियम रहेको छ । तपाईंको जीवनको स्थिति नै यस्तो छ कि तपाईंको जीवनमा प्रतिक्षण गुण नै प्रकट भएरहेको हुन्छ । तपाईंको जीवनमा गुण→ गुण प्रकटीकरण→ गुणअनुरूप विचार कर्म आदि→ पुन गुण विस्तार→ पुन गुण प्रकटीकरण→ पुन गुणअनुरूपको विचार, कर्म आदि गर्दैै एउटा अन्त्यहीन चक्र चलिरहेको छ । यही चक्रका कारण तपाईंले वर्तमान जीवनमा दुःखचक्र र मृत्यु पश्चात् भवचक्र, लोकचक्र आदि प्राप्त गरिरहनुभएको छ ।
निर्वाण साधनाका दृष्टिले पनि संस्कार वा गुण प्रकृटीकरण प्राकृतिक नियमको असाधारण महत्व छ । किनकि जब तपाईं विपश्यना साधनालाई बारम्बार दोहो¥याई रहनुहुन्छ यही शाश्वत नियमका कारण विपश्यना साधना तपाईंको मूल गुण बन्न पुग्छ । जब विपश्यना साधना तपाईंको मूल गुण बन्छ त्यस स्थितिमा गुण प्रकटीकरण नियमका कारण तपाईं बारम्बार विपश्यना साधनामा प्रवेश गरिरहनुहुन्छ । अन्ततः प्रकृतिको यही शाश्वत नियमका कारण तपाईं निर्वाण लक्ष्यतर्फ शनैःशनैः बढ्दै जानुहुन्छ ।
हेरौँ धम्मपदमा भगवान्ले प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा उल्लेख गर्नुभएका गुण प्रकटीकरण शाश्वत नियमका केही उदाहरण–
सेलो यथा एकघनो, बातेन न समीरति ।
एवं निन्दापसंसासु, न समिञ्जन्ति पण्डिता ।।८१।।
अर्थात् जसरी साह्रो चट्टानको पहाड हुरीबतासले हल्लिँदैन त्यसैगरी गुण प्रकटीकरण नियमका कारणअसली पण्डितहरू अर्थात् बुद्धिमान मानिसहरू निन्दा र प्रशंसाबाट विचलित हुँदैनन् ।
यथापि रहदोे गम्भीरो, विप्पसन्नो अनाविलो ।
एवं धम्मानि सुत्वान, विप्पसीदन्ति पण्डिता ।।८२।।
अर्थात् जसरी पानीको गहिरो पोखरी वा रह शान्त र निर्मल हुन्छ त्यसैगरी गुण प्रकटीकरण नियमका कारण धर्मका कुरा सुनेर विद्वान् वा पण्डितहरू निश्चल र शान्त रहन्छन् ।
गतद्धिनो विसोकस्स, विप्पमुत्तस्स सब्बधि ।
सब्ब गन्थप्पहीनस्स, परिलाहो न विज्जति ।।९०।।
अर्थात् जसले आफ्नो यात्रा र बाटो पूरा गरिसकेको छ, जो शोकरहित एवं सबै प्रकारले विमुक्त छ, जसले सबै बन्धन चुँडालिसकेको छ गुण प्रकटीकरण नियमका कारणत्यस्ता मानिसलाई राग, द्वेष र सन्तापरूपी जरो आउँदैन ।
अत्तना व कतं पापं, अत्तजं अत्तसम्भवं ।
अभिमत्थति दुम्मेधं, वजिरं व’स्ममयं मणिं ।।१६१।।
अर्थात् संस्कार वा गुण प्रकटीकरण नियमका कारण आफैँमा उत्पन्न, आफैँबाट निर्मित तथा आफैँबाट परिपोषित पापले दुर्बुद्धिले युक्त मानिसलाई यसरी हुँडल्छ पिरोल्छ कि जसरी ढुङ्गाबाट बनेको बज्रले ढुङ्गाको मणिलाई रगेट्छ, टुक्रा पार्छ ।
उय्य्ञ्जन्ति सतीमन्तो, न निकेते रकन्ति ते ।
हंसा व पल्ललं हित्वा, ओकमोकं जहन्ति ते ।।९१।।
अर्थात् गुण प्रकटीकरण नियमका कारण जागरुक, स्मृतिमान् मानिस प्रगतिको प्रयास गर्छन् । उनीहरू घरमा रमाउँदैनन् । एकपछि अर्को घर त्याग्दै जान्छन् । जसरी हाँसहरूले तलाउ÷पोखरी छोडेर जाने गर्छन् ।
न वे कदरिया देवलोकं वजन्ति, बाला ह वे न–प्पसंसन्ति दानं ।
धीरो च दानं अनुमोदमानो, तेन्’एव सो होति सुखी परत्थ ।।१७७।।
अर्थात् गुण प्रकटीकरण नियमका कारण कञ्जुस, छुचो मान्छे देवलोक जाँदैनन्, मूर्खहरू निश्चय नै दानको प्रशंसा गर्दैनन्, धैर्यवान् पण्डितहरू दानलाई अनुमोदन गरेकै कारण परलोकमा सुखी हुन्छन् ।
धम्मपदका अन्य श्लोकहरूका साथै त्रिपिटक ग्रन्थहरूमा भगवान्ले गुण प्रकटीकरणको नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । निर्वाणाभिलाषी साधकहरू स्वअध्ययनद्वारा यस नियमप्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।